चुनावमा सबै पार्टीबीच स्वस्थ प्रतिस्पर्धा हुन्छः गृहमन्त्री शर्मा

 दाङ । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनमा सबै पार्टीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने बताउनु भएको छ । मतदाताहरु पनि निर्वाचनमार्फत् आफ्ना जनप्रतिनिधि छान्न आतुर भएको उहाँले बताउनुभयो ।

दाङको तुलसीपुरमा सोमबार बिहान रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले भन्नुभयो, ‘सरकारले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको छ । पार्टीहरुबीच पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

अहिले केही छिटपुट घटना भएपनि निर्वाचन शान्तिपूर्ण वातावरणमा निष्पक्ष, भयरहित र धाँधलीरहितरुपमा सम्पन्न हुने मन्त्री शर्माले बताउनुभयो ।

विप्लवलाई निर्वाचन बिथोल्न नैतिकताले दिँदैन

माओवादी केन्द्रका नेतासमेत रहनुभएका मन्त्री शर्माले विप्लव नेतृत्वको नेकपालाई निर्वाचन बिथोल्न नैतिकताले नदिने पनि बताउनुभयो ।

रोल्पाको थवाङमा विप्लव समूह पनि चुनावमा सहभागी हुनुलाई सकारात्मक भन्दै उहाँले भन्नुभयो, ‘विप्लवले निर्वाचन बिथोल्न अब नैतिकरुपमा मिल्दैन । किनभने थवाङमा उहाँ चुनावी मैदानमा हुनुहुन्छ । कतै उम्मेदवारी दिने कतै बिथोल्ने यो हुन सक्दैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता महन्थ ठाकुरको सहभागितामा बसेको बैठकमा निर्वाचनको मिति सार्ने र राजपाले स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको मन्त्री शर्माले जानकारी दिनुभयो । संविधान संशोधनमा सरकार लचक भएरै चुनाव सारिएको भन्दै मन्त्री शर्माले भन्नुभयो, ‘राजपाको सहभागिताले निर्वाचन झन् उत्साहपूर्ण र सहज हुन्छ ।’

व्यापारी अपहरणकारी छिट्टै पक्राउ पर्छन्

तुलसीपुरका कपडा व्यापारी राजकुमार श्रेष्ठ र अ व्यक्ति रणबहादुर घर्तीलाई अपहरण गर्नेहरु छिट्टै पक्राउ पर्ने पनि मन्त्री शर्माले बताउनुभयो । दाङ जिल्लासहित देशभरको सुरक्षा सुदृढ बनाइएको उहाँको भनाइ छ ।

व्यापारी अपहरणको घटनाबाट सरकार गम्भीर भएको भन्दै उहाँले भन्नुभयो, ‘घटनाको कारण छ र अनुसन्धान जारी छ । पछि सबै स्पष्ट हुन्छ । यहाँको सुरक्षा सुदृढ गर्न सरकार दृढ छ ।’

आइतबार दाङ आउनु भएका गृहमन्त्री शर्मा सोमबार काठमाडौं फर्किँदै हुनुहुन्छ ।





error: Content is protected !!