पशुमा कृत्रिम गर्भाधान सुरु

जाजरकोट , जिल्ला पशु सेवाले कृत्रिम गर्भाधान सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले गाई, भैंसी, बाख्रालगायत पशुका लागि कृत्रिम गर्भाधान सेवा सुरु गरेको हो ।
जिल्लाका किसानहरूले पालन गरेका पशुमा आधुनिक प्रविधिको प्रयोगबाट गर्भाधान गराई नश्ल सुधार गर्न लागिएको पशु चिकित्सक डा। ऋषिराम सापकोटाले बताए । यस जिल्लामा पहिलोपटक गत वैशाखदेखि कृत्रिम गर्भाधान सेवा थालिएको उनले जानकारी दिए । कार्यक्रम सुरु भएको २ महिनामा १ सय २३ बाख्रा, दर्जन गाई तथा भैंसीमा गर्भाधारण गराइएको उनले बताए । पशु चिकित्सक सापकोटासहित ४ प्राविधिकले यससम्बन्धी तालिम लिएपछि सेवा सुरु गरिएको हो । गाई र भैंसीको कृत्रिम गर्भाधान पशु चिकित्सक सापकोटाले गर्ने गरेका छन् भने बाख्रामा अन्य प्राविधिकबाट हुने गरेको छ ।
कुनै पशुले बाली खोजेको १२ देखि १८ घण्टाभित्र कृत्रिम गर्भाधान गर्ने गरेको सापकोटाले बताए । स्थानीय जातको पशुको पाठेघरमा एआई गनद्वारा उन्नत जातको पशुको वीर्य राख्ने प्रविधि नै कृत्रिम गर्भाधान भएको उनले जानकारी दिए । यस प्रविधिबाट जन्मेका पशुबाट मासु तथा दूधको उत्पादन दोब्बररतेब्बर हुने उनको भनाइ छ । कृत्रिम प्रविधि सञ्चालनमा आएपछि पशुलाई बाली लगाउन बहर, राँगा र बोका पाल्नु पर्ने झन्झट हटेको उनले बताए । ‘गाईमा जर्सीको वीर्य, भैंसीमा मुर्राजात र बाख्रामा बोयर जातको वीर्य प्रयोग गर्ने गरेका छौं,’ उनले भने । पशु वीर्य पशु प्रजनन कार्यालय नेपालगन्जबाट प्रतिवीर्य ३० रुपैयाँमा ल्याउने गरेको उनले जानकारी गराए । विद्युत् अभावले वीर्यको तापक्रम व्यवस्थापनमा भने समस्या भइरहेको उनले बताए ।
चालु वर्ष यातायात सुविधा भएको स्थानमा मात्र कृत्रिम गर्भाधान सेवा दिएको र आगामी वर्षदेखि जिल्लाभर विस्तार गरिने कार्यालय प्रमुख सुमिन्द्र यादवले बताए । कृत्रिम गर्भाधानबाट जन्मेका पशुको उत्पादन क्षमता स्थानीय नश्लको भन्दा तेब्बर हुनाले यसमा किसानहरूको आकर्षण बढेको यादवको भनाइ छ । कार्यालयको नियमित कार्यक्रमअन्तर्गत अन्य जिल्लामा सञ्चालन भए पनि जिल्लामा चालु वर्षदेखि मात्र सुरु गरिएको उनले बताए । जिल्लाभर सेवा सञ्चालन गर्नसके यहाँका किसान पूर्ण रूपमा लाभान्वित हुने उनको भनाइ छ








