विश्वमै दुर्लभ सेतो गिद्ध नेपालमा भेटियो

जाजरकोट : विश्वमै लोपन्मुख सेतो गिद्ध जाजरकोटमा फेला परेको छ । जिल्लाको बारेकोट गाँउपालिका १ सक्लामा लोपन्मुख सेतो गिद्ध फेला परेको हो । दुई बर्ष देखि नदिएको गिद्ध हालै फेला परेको पंक्षी संरक्षण संघ नेपालका आजिवन सदस्य रहेका जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिहले जानकारी दिनु भयो । 
जिल्लाको भेरीनगरपालिका ११ मटेलामा सेतो गिद्धको केही समय अघि गुँड फेला परेको थियो तर अनुकुल वातावरण नपाएपछि गिद्धले गुँड छोडेर गएको सिहले बताउँनुभयो । सक्लामा हालै फेला परेको एक जोडी सेतो गिद्धको गुँड भने फेला पार्न नसकिएको उहाँको भनाई छ । प्रकृतिको कुचिकारको रुपमा लिईने गिद्धका विभिन्न प्रजाती मध्य सेतो प्रजातिको गिद्ध विश्मै लोप हुने अवस्थामा पुगेको छ । विश्वमै लोप हुने अवस्थमा पुगेको सुन गिद्धको एक जोडी जाजरकोटमा दुई बर्ष अघि फेला परेको थियो ।
त्रिवेणी नलगाड नगरपालिका ५ लहँको महादेव स्थान जंगलमा सुन गिद्धको गुँड फेला परेको थियो । गुँडमा अण्डा पारेपनि कोरल्न नसकेको पंक्षी संरक्षण अभियान्ता सिहले बताउनुभयो । उहाँले भन्नुभयो केटाकेटीले गुँडमा ढुङ्गा हान्ने , आगलागी आदी कारणले गर्दा चल्ला कोरल्न नसेपनि एक जोडी सुन गिद्ध जाजरकोटमा रहेको छ । पाल्पामा पहिलो पटक देखिएको सुन गिद्ध जाजरकोटमा समेत देखिएको हो ।
चरा संरक्षण संघका अनुसार विश्वमा १३ प्रकारका गिद्ध पाइन्छन । एसियामा ९ प्रकारका पाईनेमा ति सवै नेपालमा पाईन्छन् । त्यस मध्य चार प्रजातीका गिद्ध जाजरकोटमा पाइने गरेका छन् । सेतो गिद्ध , सुन गिद्ध , हाडफोर गिद्ध र हिमाली गिद्ध जाजरकोटमा पाईने एक अध्ययनले देखाएको छ । पंक्षि संरक्षण संघले गरेको अध्ययन बाट जिल्लामा ७५ ओटा हिमाली गिद्ध , तीन जोडी हाडफोर गिद्ध र एक एक जोडी सुन गिद्ध तथा सेतो गिद्ध रहेका छन् । जनचेतनाको अभावमा बनजंगलको विनास , जथाभावी आगलागी हुनु , गिद्धका गुँडमा ढुङ्गा हान्ने , अण्डा तानेर फालिदिने , जथाभावी सिनोमा विष हाल्ने आदि कारणले गिद्ध विश्वबाटै लोप हुने अवस्थामा पुगेका छन् ।
यसको संरक्षण तर्फ कसैको ध्यान गएको पाईदैन अभियान्ता सिहले भन्नुभयो ‘अहिले नै संरक्षणका लागी सोचेनौ भने केही बर्ष भित्रै सवै गिद्ध लोप भएर जाने र त्यसले प्राकृतिक सन्तुलन कायम राख्ने निकै समस्या पर्ने छ ।’ गिद्धका लागी गुँड लगाउन अग्ला रुख र शान्त वातावरण आवश्यक पर्दछ । पशुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधी गिद्धका लागी विष समान हुन्छ तर सरकारले प्रतिबन्ध लगाएपनि यसको प्रयोग नरोकिएकाले गर्दा गिद्ध लोप हुने अवस्थामा पुगेका छन् । यो औषधी प्रयोग गरेको पशुको मृत्यु भएमा त्यो सिनो गिद्धले खाँदा असर गर्ने गरेको पशु चिकित्सक डा. सईन्द्र यादवले बताउनुभयो ।







