रसियाको कारबाहीमा आइएस प्रमुख मारिएको आशंका

रसियाली सैनिकले सिरियामा गरेको हवाई आक्रमणमा मुस्लिम अतिवादी समूह स्लामिक स्टेट (आईएस) का नेता अबु बकर अल बग्दादी मारिएको आशंका गरिएको छ ।
रसियाली सेनाले आईएसको पकड रहेको सिरियाको रक्वा सहरमा गरेको सो कारबाहीमा आईएस प्रमुख बग्दादी मारिएको रसियाले अनुमान गरेको हो । रसियाली सेनाले रक्वामा मे २८ मा भीषण हमला गरेको थियो । हमलामा दर्जनौँ लडाकू मारिएका छन् ।
सो सहरमा आईएसको बैठक बसेको र त्यहाँ आईएसका प्रमुखको पनि सहभागिता रहेको सूचनाका आधारमा सेनाले कारबाही गरेको थियो । बैठकमा आईएस प्रमुख अबु बकर अल बग्दादी पनि सहभागी भएको र उनी मारिएको हुनसक्ने बताइएको छ । तर, यसको पुष्टि हुन भने बाँकी नै रहेको सेनाले जनाएको छ ।
‘बग्दादी मारिएको विषयमा पुष्टि हुन बाँकी नै छ, आक्रमणमा उनको पनि मृत्यु भएको प्रवल सम्भावना छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।










