कैलाश–मानसरोवर जाने तीर्थयात्री बढे – तीर्थयात्रीमा भारतीय बढी – गतबर्ष १९ हजार तीर्थयात्री गएकोमा यस वर्ष ३१ हजारद्वारा बुकिङ

कैलाश–मानसरोवर तीर्थयात्राका लागि जाने पर्यटकहरू बढेका छन् । तीर्थयात्रीको चाप बढेकाले नेपालगन्ज र हुम्लाका होटलहरू एक महिनादेखि भरिभराउ छन् । त्यसैगरी मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई भ्याइनभ्याई छ ।
मानसरोवर जानेमा बढी भारतीय तीर्थयात्री छन् । तीर्थयात्री बढेसँगै नेपालन्ज–सिमकोट दैनिक २५ उडान हुने गरेका छन् । तीर्थयात्री ओसार्नका लागि नेपालगन्ज विमानस्थलमा गोमाका ३, ताराका ३, सिम्रिकका २ र सीताका १ जहाज छन् । त्यस्तै सिमकोट विमानस्थलमा फिस्टेल, माउन्टेन, सिम्रिक, डाइनास्टी एयरले १० वटा हेलिकप्टर राखेका छन् । सिमकोट–हिल्सा रुटमा हेलिकप्टरका दैनिक ८० बढी उडान हुने गरेका छन् । सिमकोटबाट १५ मिनेटको उडानपछि हिल्सा र त्यसपछि चीनको ताक्लाकोट हुँदै मानसरोवर पुग्न सकिन्छ ।
वैशाखको पहिलो सातादेखि असोजसम्म भारतीय तीर्थयात्रीहरू कैलाश–मानसरोवर यात्राका लागि जाने गरेका छन् । तीन दिनदेखि नेपालगन्जबाट हुम्ला हुँदै मानसरोबर जाने तीर्थयात्रीका कारण विमानस्थल व्यस्त बन्दै गएको छ । नेपालगन्ज–सिमकोट जहाजमा जाने तीर्थयात्रीहरू तिब्बत सीमा हिल्सासम्म हेलिकप्टर प्रयोग गरी जाने गरेका छन् । हिल्साबाट भने चिनियाँ सवारी साधन प्रयोग गरी कैलाश–मानसरोवर पुग्ने गरेका छन् ।
भारतीय तीर्थयात्रीले मानसरोवरलाई वर्षौंदेखि आस्थाको केन्द्र मान्दै आएका छन् । भारतको उत्तरप्रदेशस्थित बदायु जिल्लाका ६० वर्षीय किशोर राठीले आफ्ना भाइ भुवनेश्वरसहित १४ जनाको समूह कैलाश दर्शनका लागि जान लागेको बताए । ‘हामीले भारतका चार धामको दर्शनपछि मानसरोवरलाई पनि गर्छौंं,’ उनले भने । कैलाश दर्शनका लागि आउनेलाई उत्तरप्रदेश राज्यले १ लाख रुपैयाँ अनुदान दिने गरेको उनले बताए ।
उत्तरप्रदेशकै मेरठ जिल्लाबाट यात्राका लागि आएकी चौधरी चरहरसिंह विश्वविद्यालयकी प्राध्यापक अञ्जु रस्तोकीले पति पंकज रस्तोकीसहित १६ जनाको समूह मानसरोवर जान लागेको बताइन् । नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार दैनिक ४ देखि ५ सय जनासम्म भारतीय तीर्थयात्री नेपालगन्जबाट सिमकोट पुग्ने गरेका छन् । ‘जहाजहरूले चार्टरमार्फत सिमकोट उडान बढाएपछि नेपालगन्ज विमानस्थल व्यस्त बन्दै गएको छ,’ नेपालगन्ज कार्यालयका क्षेत्रीय निर्देशक प्रतापबाबु तिवारीले भने । हुम्लाका प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलका अनुसार भारतीय तीर्थयात्री आउन थालेपछि सदरमुकाम सिमकोटका सबैजसो होटलहरू भरिभराउ हुन थालेका छन् ।
गत वर्ष करिब १९ हजार भारतीय तीर्थयात्रीले कैलाश–मानसरोवरको दर्शन गरेका थिए । यस वर्ष ३१ हजारले बुकिङ गरिसकेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । यस वर्ष हालसम्म करिब ५ हजार बढी पर्यटकले कैलाश दर्शन गरिसकेका छन् । भूकम्पपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेपछि कैलाश जाने सबै तीर्थयात्रीहरू नेपालगन्ज–सिमकोट–हिल्सा रुटबाट जान थालेका हुन् ।

हुम्लामा होटल सुविधा
हुम्लाको सिमकोटमा भारतीय पर्यटकलाई लक्षित गरी ८ वटा ठूला होटल सञ्चालन गरिएका छन् । मानसरोवर होटलमा यस वर्षका लागि ५ हजार पर्यटकका लागि बुकिङ भएको सञ्चालक टेकबहादुर रावतले बताए । हुम्लामा पर्यटकका लागि कैलाश रिसोर्ट, सनभ्याली रिसोर्टलगायतका सुविधायुक्त होटल खुलेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!