उपेन्द्र भन्छन्, ‘आफू प्रधानमन्त्रीमा मत दिने, मधेसी जनतालाई मताधिकारबाट रोक्ने ? सरकारले चाहे गोला बारुदका बीच पनि चुनाव गर्न सक्छ

मोरङ,  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी राजपाको आन्दोलनले स्थानीय तहको निर्वाचनमा मधेसीको मताधिकार खोसिने बताएका छन् ।

विराटनगरस्थित आफ्नो निवासमा पत्रकारसंग मंगलवार कुरा गर्दै यादवले लोकतान्त्रिक व्यबस्थामा निर्वाचन बहिस्कार गरेर अलोकतान्त्रिक व्यबहार देखाउनु भन्दा प्राप्त उपलब्धी संस्थागत गर्न र बाँकी अधिकार प्राप्तीको लागि जनताको मत प्राप्त गर्न राजपालाई निर्वाचनमा आउन आग्रह गरेका हुन् । ‘जनता निर्वाचन चाहेकोले जस्तोसुकै आन्दोलनले पनि मतदान गर्न रोक्न सक्दैन,’ उनले भने, ‘पहिलो चरणको निर्वाचनमा विप्लब नेतृत्वको माओवादीले निर्वाचन बहिस्कारका साथै बम बिष्फोटसम्मको कार्य गर्दा समेत जनता मतदान गर्नबाट पछि नहटेकोबाट निर्वाचनको विपक्षमा रहेको राजनीतिक दललाई सचेत भएर निर्वाचनमा आउनु पर्ने हो ।’

 

यादवले दुई चार सहरमा आफ्ना कार्यकर्तालाई उतारेर २० वर्ष पछि मधेसी समुदायले चाहेको स्थानिय तहको नेतृत्वको लागि हुने निर्वाचन राजपाले रोक्न नसक्ने दाबी गरे । पटक पटकको आन्दोलनले उपलब्धी भन्दा पनि मधेसी मारिदै आएकोले मुलुकलाई राजनीतिक निकास दिन निर्वाचनबाट पुनस् जनताको समर्थन आवश्यक भएकोले निर्वाचनमा सहभागी हुनुको विकल्प नभएको उनले बताए ।

आफू प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्न जाने तर मधेसी जनतालाई मतदान गर्न नदिने दोधारे नीति भएको भन्दै आम मधेसीको वहसको विषय बनेकोले पनि राजपालाई विचार पुर्‍याएर निर्वाचनमा सहभागी हुन आउन उनले आग्रह गरे । ‘मधेसी जनताको मताधिकार खोस्ने आन्दोलन राजपाभित्रको आन्तिरक द्वन्द्वको उपज हो,’ उनले भने, ‘अरुको सहयोगमा राजपा निर्माण भएपनि एकले अर्कालाई स्वीकार नगरेकाले निर्वाचनमा मधेसीको मतधिकार खोस्ने गरी आन्दोलनको सुरुवात भएको हो ।’

सरकारले चाहेमा दोस्रो चरणको निर्वाचन कसैले रोक्न नसक्ने उनले बताए । ‘गोला बारुदको बर्षा भएको स्थानमा पनि सरकारले निर्वाचन गराएको उदाहरणहरु छ,’ उनले भने, ‘पहिलो चरणको निर्वाचनमा आन्दोलनबाट मतदाता नडराएकोले नै ७४ प्रतिशत मतदान भएकाले दोस्रो चरणको निर्वाचनमा राजपाको आन्दोलनका बावजुत पनि मतदान हुन्छ ।’

माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न नभए सहीदको बलिदानीबाट प्राप्त संघीयता र गणतन्त्र गुम्ने उनले बताए । ‘मुलुकमा दिन प्रतिदिन प्रतिगमनकारी शक्ति हावी हुदै गएकोले माघ सात गते भित्र तिनै तहको निर्वाचन सम्पन गर्नुको विकल्प छैन,’ उनले भने, ‘संघियता र गणतन्त्रमाथिको षडयन्त्र चिर्नको लागि लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष निर्वाचनलाई उपयोग गरेर जबरजस्ती बनाइएको संविधानमा सुधार गर्नु पर्छ ।’

यादवले निर्वाचनसँगै संविधान संशोधनको लागि दबाब बढाउँदै निर्वाचनको माध्यमले शक्ति संचय गर्नुको विकल्प नभएको बताए । ‘अहिलेको संविधान संशोधन विधेयकले पनि मधेसी, आदिवासी, थारु, मुस्लिमलगायतको राजनीतिक माग सम्बोधन नहुने भएकोले निर्वाचनमा सहभागी भएर संविधानलाई दलहरुको सहमतिमा संशोधन गरिदै अघि बढ्नुपर्छ’ उनले भने, ‘कुनै पनि सरकारले मधेशको समस्या समाधान गर्न गम्भीर भएर नलागेकोले एमालेलाई समेत विश्वासमा लिएर संविधान संशोधन गर्नुको विकल्प छैन ।’

 

 




सम्बन्धित समाचार


error: Content is protected !!