पेट पाल्नै त धौधौ छ, छोराहरुलाई कसरी पढाउँ?

जाजरकोट: वारेकोट गाँउपालिका २ लिम्साकी मनसरी रोकायले ठीक आठ बर्ष अघि जिल्लामा महामारीको रुपमा फैलिएको झाडापखालाबाट पति गुमाउनु परेको पिडा अहिले पनि ताजै छ। जीवनभरका साहारा पति गुमेपछि मनसरीको जीवनमा ठुलो बज्रपात परेको छ।

साना दुई नाबालक छोराहरुलाई पठनपाठन र लालनपालनको सम्पुर्ण जिम्मेवारी आईलाग्यो। झाडावान्ता लागेको ६ दिनमै पति मानबहादुरको ज्यान गएपछि मनसरी छाँगाबाट खसे जस्तै हुनुभयो । दैनिक गुजरा चलाउन समेत उहाँको परिवारलाई धौ धौ परिरहेको छ।

२०६६ साल जेठ २ गते पति मानबहादुरको मृत्यु हुँदा मनसरी २४ बर्षकी हुनुहुन्थ्यो। उपचारको अभावमा ३२ बर्षको उमेरमै पतिको मृत्यु हुँदा त्यतिवेला जेठो छोरा ४ बर्ष र कान्छो छोरा २ बर्षका थिए। सम्पतिको नाममा पाखो वारी मात्र थियो।

त्यसले खान लाउन नपुग्ने र बच्चाहरुलाई पनि पढाउनु पर्ने भएपछि आफु कामको खोजीमा भौतारिदै रुकुम पुगेको उहाँको भनाई छ। त्यहाँ एक बोडिङ्गमा काम गदै छोराहरु पढाउन थालेको थिएँ। त्यही जेठा छोरा आशिष विरामी पर्यो। रुकुममा उपचार हुन सकेन। छोरालाई काठ्मान्डौ लग्नु पर्यो उहाँले भन्नुभयो ‘ऋणसाहु गरेर छोरालाई उपचार गराएँ।

त्यसपछि जाजरकोट सदरमुकाममा आएर गुजराका लागी ज्याला मजदुरी गर्न बाध्य छु। कहिले गिट्टी कुटछु। कहिले ज्याला मजदुरी गरेर जेनतेन छोराहरुलाई पढाईरहेकी छु । जेठो छोरा सात कक्षामा पढ्छ। कान्छो छोरा दुईमा पढ्छ । कापी कलम र विद्यालयको शुल्क तिर्न नसकेर हैरान छ।’ पेट पाल्नै गाह्रो छ ,म यी छोराहरुलाई कसरी पढाउँ ?

छोराहरुलाई देखाउँदै उहाँले भन्नुभयो ‘यीनीहरुलाई आफ्नो खुट्टामा टेक्ने बनाउन पाएको भए पति वियोगको पिडा कम हुने थियो । छोराहरुलाई पढाउन कसैले सहयोग गरिदिएको भए मलाई ठुलो राहत हुने थियो।’

छोराको उपचारमै गाँउमा रहेको सम्पति सकिएको उहाँको भनाई छ। सदरमुकाममा कोठा भाडा लिएर बसिरहेकी उहाँले दैनिक गुजरा चलाउन निकै समस्या परिरहेको बताउनुभयो। ‘दुई छाक खाना र यी दुई छोरालाई पढाई खर्च जुटाउन निकै संघर्ष गरिरहनु परेको छ’ उहाँले भन्नुभयो-‘मेरो पनि शरिर हो दैनिक मजदुरी गरेर कतिदिन गुजरा चल्ला र ?। म जस्तो दुःख बैरीलाई पनि नहोस।’ दुःख , पिडा र अभावले ३२ बर्षको उमेरमै उनलाई बुढ्यौलीले छोप्न थालिसकेको छ।

जवानी उमेरमै विधवा हुनु परेको पिडा एकातिर छदैछ त्यसैमा गरीबीले गर्दा विहान बेलुकाको छाक टार्न र छोराहरुको पढाई खर्च जुटाउन नसक्नुको पिडाले उहाँलाई थप पिरोलिरहेको छ । सरकारले झाडापखाला पिडित परिवारलाई दश हजार रुपैयाका दरले राहत दिएको थियो तर उनले राहत रकम नपाएको गुनासो गरेकी छन् । अरु सवैले राहत पाए । मैले पनि राहतको लागी निवेदन दिएकी थिए तर दिएनन् । मेरो लागी बोली दिने कोही भएन उहाँले गुनासो पोख्दै भन्नुभयो।

२०६६ सालमा महामारीको रुपमा जाजरकोटमा फैलिएको झाडापखालाबाट तीन सय बढीको ज्यान गएको थियो। ज्यान गुमाउनेमा दलित , जनजाती र विपन्न बर्गका समुदायका मानिसहरु रहेका थिए। अधिकांश पिडित परिवारको अवस्था एकदमै नाजुक छ। दैनिक घर ब्यवहार चलाउन मुस्किल छ तर राज्यका तर्फबाट अहिले सम्म कुनै पनि किसिमको सहयोग ति परिवारलाई हुन सकेको छैन।

अन्नपुर्णपोष्टवाट साभार ।





error: Content is protected !!