डोल्पामा जडीबुटीबाट एक करोड राजस्व

डोल्पा , जडीबुटी निकासीको करबापत चालु आर्थिक वर्षमा जिल्ला वन कार्यालयबाट ४५ लाख ९५ हजार र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट ५० लाख राजस्व संकलन भएको छ ।
जिल्ला वन कार्यालयका अनुसार यार्चागुम्बुबाट ३२ लाख ८० हजार, जटामसीबाट ८ लाख र सुगन्धवालबाट ६७ हजार रकम राजस्वका रूपमा संकलन भएको छ । त्यस्तै विष जरा, अतिस, पदमचाल, डालेचुक, कुटकी लगायतको जडीबुटीसमेत निकासी भएको कार्यालयले जनाएको छ । शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका अनुसार सुलिगाडमा यार्चा संकलन प्रवेशपत्रबापत ३९ लाख ३६ हजार र छुट पुर्जीबापत १० लाख २ हजार राजस्व संकलन भएको छ । निकुञ्जमा ४९ लाख ३८ हजार राजस्व संकलन भएको संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
यो वर्ष यार्चा संकलन गर्न आउनेहरूको संख्या घटेको अनुमान गरिएको छ । संकलक घटेका कारण राजस्व संकलनमा कमी आएको चौधरीले जनाए । यार्चाको सिजन भर्खर सुरु भएकाले राजस्व बढ्न सक्ने उनले जनाए । जिल्ला वन तथा निकुञ्जका अनुसार ६५ किलो यार्चा संकलनको पुर्जी गएको छ । त्यसमध्ये २५ किलोको छुट पुर्जी जारी भएको कार्यालयले जनाएको छ । निकुञ्जका अनुसार तोइजम, धो, रिग्म, साल्दाङ, डोल्फु, भिजेरलगायतका स्थानबाट संकलकहरूलाई अनुमतिपत्र जारी गरिएको थियो ।










