गणतन्त्रका १० बर्षमा १० औ प्रधानमन्त्री देउवा

काठमाडौ : नेपालमा गणतन्त्र स्थापना भएको १० बर्ष पूरा भएको छ । यो अवधिमा १० जना प्रधानमन्त्री निर्वाचित हुनु भएको छ । दुई जना राष्ट्रपति र दुई सय ५० भन्दा बढी व्यक्तिहरु मन्त्री हुनु भएको छ । यो अवधिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई पटक र अन्य नेताहरु एक एक पटक प्रधानमन्त्री बन्नु भएको छ ।
तत्कालीन नेकपा माओवादी र सात दल वीच दिल्लीमा भएको समझदारीका आधारमा भएको आन्दोलनले दुई सय ४० बर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य भएको थियो । राजतन्त्रको अन्त्यपछि पहिलो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्र प्रमुखको समेत भूमिका निर्वाह गर्नु भएको थियो ।
यो अवधिमा दुई पटक संविधानसभाको निर्वाचन भएको छ । पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी पहिलो पार्टी र काँग्रेस दोस्रो पार्टी बनेको थियो । दोस्रो संविधानसभा निर्वाचनबाट काँग्रेस पहिलो पार्टी र माओवादी तेस्रो पार्टी हुन पुगेको थियो ।
पहिलो संविधानसभाको अवधिमा तेस्रो पार्टी बनेको नेकपा एमालेका नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री हुनु भयो । दोस्रो संविधानसभाको निर्वाचनपछि काँग्रेसका सभापति सुशील कोइराला,एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभयो ।
दोस्रो संविधानसभाले संविधान घोषणा गरेको थियो भने रुपान्तरित व्यवस्थापिका संसदले नयाँ संविधान अनुसारका कानुनहरु बनाउँदै आएको छ ।
दोस्रो संविधानसभाको निर्वाचन गराउन प्रधानन्यायाधिश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद गठन गरिएको थियो ।
दोस्रो संविधानसभाको निर्वाचनपछि पहिलो पार्टी काँग्रेस र दोस्रो पार्टी एमाले सरकारमा सहभागी भएका थिए भने तेस्रो पार्टी माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दल बनेको थियो । संविधान घोषणा गरेपछि दोस्रो दल एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री निर्वाचित गराउन तेस्रो दल माओवादीले समर्थन गरेको थियो र माओवादी पनि सरकारमा सहभागी भएको थियो ।
एमाले नेतृत्वको सरकार बिघटन गराई पहिलो पार्टी काँग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभयो ।
काँग्रेस र माओवादी वीच भएको भद्र सहमतिका आधारमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि मंगलबार काँग्रेस सभापति देउवा प्रधानमन्त्री निर्वाचित हुनु भएको हो ।
चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित देउवा नेपालको ४० औ र गणतन्त्रपछिको १० औ प्रधानमन्त्री हुनु भएको छ । देउवालाई माओवादी केन्द्र,राप्रपा,राजपा,संघीय समाजवादी फोरम,फोरम लोकतान्त्रिक लगायतका पार्टीले समर्थन गरेका छन । प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री निर्वाचनमा आफनो उम्मेदवारी नै दिएको छैन । एमालेले देउवाको विपक्षमा मतदान गरेको छ ।

१,गिरिजाप्रसाद कोइराला ०६३—०६५
२,पुष्पकमल दाहाल प्रचण्ड ०६५—०६६
३,माधवकुमार नेपाल २०६६ जेठ ११ देखि ०६७ माघ २२

४,झलनाथ खनाल २०६७ माघ १० देखि ०६८ भदौ ११
५,बाबुराम भट्टराई ०६८ भदौ १२ देखि ०६९ फागुन ३०
६,खिलराज रेग्मी २०६९ चैत १ देखि २०७० माघ २८
७,सुशील कोइराला २०७० माघ २८ देखि २०७२ असोज २४
८,केपी शर्मा ओली २०७२ असोज २५ देखि ०७३ साउन १९
९,पुष्पकमल दाहाल प्रचण्ड २०७३ साउन २० देखि २०७४ जेठ २३
१० शेरबहादुर देउवा २०७४ जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित




सम्बन्धित समाचार


error: Content is protected !!