प्रधानमन्त्री निर्वाचन प्रक्रियाः सभामुखको यस्तो छ तयारी, देउवाको सत्ता यात्रामा लाग्ने भो ब्रेक

काठमाण्डु, २१ जेठ– भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयका कारण आक्रोशित बनेको प्रमुख प्रतिपक्षी एमालेले नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसदमा आज हुने निर्वाचन हुन नदिने भएको छ ।

निर्वाचन आयोगले सत्तापक्षको गोटीका रुपमा काम गरेको भन्दै एमाले स्थायी समिति बैठकले शनिबारै उक्त निर्णय अस्वीकार गर्ने र प्रधानमन्त्रीको निर्वाचनसहित संसदको कुनै पनि कार्यसूची अगाडि बढ्न नदिने निर्णय गरिसकेको छ । संसदमा बिहान ११ बजे प्रधानमन्त्री निर्वाचनको कार्यक्रम छ । निर्वाचन कार्यक्रमअनुसार शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । तर, उक्त अवधिमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्र एकल उम्मेदवारी परेको छ ।

एमालेले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा आएर प्रक्रियामै सहभागी नहुने र प्रधानमन्त्री चुन्न नदिने रणनीति बनाएको हो । प्रधानमन्त्री निर्वाचनको सूचना संसद बैठकलाई दिनुपर्नेमा बाहिरै सूचना टाँसिएकामा आपत्ति जनाउँदै आएको एमाले निर्वाचन आयोगको निर्णयपछि थप क्रुद्ध बनेको हो । आयोगले शनिबार भरतपुर–१९ मा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

आज संसदमा के गर्दैदिन् सभामुख ?
संसद नियमावलीअनुसार एक जनाको मात्र उम्मेदवारी परे पनि बैठकमा प्रधानमन्त्रीको उम्मेदवारीको सूचना दिनुपर्ने र निर्वाचन हुनुपर्ने व्यवस्था छ । त्यसैले सभामुखले देउवाको उम्मेदवारीको सूचना प्रस्तुत गर्नुपर्छ । तर, एमालेले संसद चल्न नदिएको अवस्थामा सभामुखले के गर्लिन ? सबैको चासो त्यसैमा छ । एमालेले सभामुखले यसअघि नै बाहिर सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनमा संसदलाई छलेको आरोप लगाउँदै आएका कारण एमालेलाई बाइपास नगर्ने मुढमा सभामुख रहेको दाबी स्रोतले गरेको छ । सभामुख घर्तीले संसद बैठकअघि सहमति प्रयासमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन् । यद्यपि एमाले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन दिने पक्षमा देखिएको छैन । यस्तोमा के गर्ने भन्ने स्वविवेकीय अधिकार सभामुखलाई छ ।

विपक्षीको अवरोधकै बीच प्रधानमन्त्री निर्वाचन प्रक्रिया अगाडि बढाउने वा अर्को मिति सार्ने अधिकार सभामुखलाई छ । सभामुख निकट स्रोका अनुसार उनका सल्लाहकारहरुले प्रतिपक्षी एमालेलाई थप बिच्क्याउने गरी आइतबार नै प्रधानमन्त्री निर्वाचन नगराउन सुझाव दिएका छन् । उक्त सुझावलाई सभामुख घर्ती स्वयंले सकारात्मक रुपमा लिएकी छन् । ‘आजै हतारहतार गर्नुभन्दा अर्को मिति तोक्दा राम्रो हुन्छ भन्ने सुझाव दिएका छौं’, सभामुखका एक सल्लाहकारले काठमाण्डुटुडेसँग भने, ‘सभामुख पनि सुरुआती चरणमै प्रतिपक्षलाई पेलेर जानुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्न ।’ यद्यपि प्रक्रिया नलम्ब्याउन सभामुखमाथि काँग्रेस नेताहरुले दबाब दिएको उनले बताए । ‘एकातिर काँग्रेसको प्रेसर छ, अर्कातिर एमालेको प्रेसर छ’, उनले भने, ‘सभामुख अप्ठेरोमा पर्नुभएको छ ।’

यद्यपि सरकार र संसदले नगरेको कामका बारेमा संसदमा प्रशन उठाएर एमालेले संसदीय सर्वोच्चतामाथि प्रहार गरेको आरोप ती सललहारले लगाए । ‘चितवनको मतगणना वा पुनः निर्वाचन भन्ने विषय सरकार वा संसदसँग सम्बन्धित नै होइन । निर्वाचन आयोगले गरेको निर्णयमा चित्त बुझेन भने आयोग घेरे हुन्छ । तर संसद किन चल्न नदिइएको हो बुझ्न सकिएको छैन’, उनले भने ।  उनका अनुसार आइतबार देउवा प्रधानमन्त्रीमा निर्वाचिन हुने सम्भावना शून्य प्रायः छ । काँग्रेस–माओवादीबीचको पूर्वसहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० जेठमा पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढेको हो  ।




सम्बन्धित समाचार


error: Content is protected !!