भेरी­­–बबई डाइभर्सन आयोजना कामको गति तीव्र

बिमला खड्का,  राष्ट्रिय गौरवको भेरी­–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी लिमिटेडले सुरुङ निर्माणको काम तीव्र रुपमा अगाडि बढाएको छ । आयोजनाको मुख्य मानिएको सुरुङ खन्ने कार्य ११० मिटर पूरा भएको सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकाल बताउँछन् । भेरी नदीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबईमा खसालेर विद्युत् उत्पादन गर्ने तथा सिँचाइका लागि आयोजना निर्माण थालिएको हो । चुरे क्षेत्रमा १२ किमि सुरुङ निर्माणाधीन छ । निर्माणस्थलमा सडक र विद्युत् पु¥याउने काम पूरा भएको छ । ठेकेदार कम्पनीले फिल्ड कार्यालय र आयोजनाका लागि आवश्यक निर्माण सामग्री उत्पादन गर्ने सहायक उद्योग पनि स्थापना गरिसकेको छ । यस्तै सुरुङ खन्ने मेसिनको स्थापना अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । यसका लागि टनेल बोरिङ मेसिनको प्रयोग गरिने भएको छ । साउनसम्ममा यसलाई चीनबाट आयात गरिनेछ ।


सुर्खेतको चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी बबईमा खसालिनेछ । यसबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारणमा जोड्ने र तेस्रो चरणमा सिँचाइमा प्रयोग गर्ने योजनासहित आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको हो । आयोजना निमार्णका लागि सिँचाइ विभाग र चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बीच २०७१ माघ १६ मा ठेक्का सम्झौता भएको थियो । आयोजनामा करिब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । करिब १२५ किमि क्षेत्रमा सिँचाइ पहुँच पुग्ने इन्जिनियर ढकाल बताउँछन् ।
२०७५ फागुनमा पूरा गर्ने लक्ष्यसहित सुरु आयोजना निर्माण अबको १ वर्षभित्रै पूरा हुने दाबी गरिएको छ । आयोजनामा अहिले ३५० स्थानीयले रोजगार पाएका छन् । सिनियर डिभिजनल इन्जिनियर ढकालले टनेल बोरिङ मेसिन (टीबीएम) राख्न प्लेटफर्म निर्माण भइसकेको बताए । ‘साइड अफिस पनि स्थापना भइसक्यो, आधारभूत संरचना लगभग तयार भइसकेका छन्,’ उनले भने । उनका अनुसार मजदुरले १५० मिटर सुरुङ खनेपछि मात्र मेसिनको प्रयोगबाट निर्माण थालिनेछ । सुरुङ निर्माण पूरा भएसँगै ड्याम र विद्युतगृह पनि तयार हुने ढकालले बताए । स्वदेशी लगानीमा निर्माणाधीन आयोजनाको शिलान्यास २०७१ चैत ११ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । आयोजनाले प्रभाव पार्ने क्षेत्रमा अहिले थुप्रै सामाजिक तथा आर्थिक विकासका गतिविधि पनि सुरु भएका छन् ।
टोटल मासिकबाट

 





error: Content is protected !!