प्रहरीको हत्या गर्नेलाई उन्मुक्ति दिने सरकारको कुनै निर्णय छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ ७ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराधीलाई उन्मुक्ति दिने सरकारको कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तर्वार्तामा प्रधानमन्त्रीले उक्त कुरा स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्रीले भने, ‘टिकापुर घटनाको मुद्दा फिर्ताबारे अनावश्यक प्रचार गरिएको छ । झुट्टा मुद्दा फिर्ता गर्ने भनिएको हो, जो घटनामा संलग्न छैनन्, उनीहरुलाई कार्यविधिमा पूनर्विचार गरेर मुद्दा फिर्ता लिने भनिएको हो ।’

हत्यामा संलग्नलाई उन्मुक्ति दिने नभनिएको प्रधानमन्त्रीको दाबी थियो ।
‘मधेशमा भएको धनजन लगायतका कुराहरुबारे पनि सरकार गम्भीर छ । गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने सरकारको नियत छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान, कानून र अदालतको नजिरको हामी सम्मान गर्छौं । घटनामा संलग्न नै नभएकाहरुलाई झुट्टा मुद्दा लगाइएको छ भने त्यसलाई फिर्ता गर्ने भनिएको हो ।’
उनले कुरा राम्ररी नबुझीकन त्यसको गलत व्याख्या गर्नु राम्रो नभएको भन्दै दुःख समेत व्यक्त गरे । ‘प्रतिपक्षीको विरोध गर्नु आफ्नो धर्म होला । सरकारको उद्देश्य घटनामा संलग्न नभएकाहरुलाई छुट दिने हो, अपराधीलाई उन्मुक्ति दिने होइन,’ उनले भने ।
— प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन उत्साहवद्र्धक, जनताको व्यापक सहभाागिता र शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए । ‘कसले जित्यो भन्नेमा मेरो ध्यान छैन । दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । देश सही दिशामा गएको छ, देश सफलताको बाटोमा जान्छ । यो नै मेरा लागि खुसी र गर्वको विषय हो,’ उनको भनाई थियो ।
— प्रधानमन्त्रीले हिमाल, पहाड र मधेशलाई मिलाएर संविधान कार्यान्वयन गर्नु मेरो दायित्व थियो, यसमा म सफल भएको बताएका छन् । उनले भने, ‘मलाई गर्वको महशुस भएको छ, देशले जितेको छ । मेरो पार्टीले जित्यो कि जितेन भन्ने मलाई खासै चासो छैैन । अहिलेको सन्दर्भमा माओवादीले जुन स्थान हासिल गरेको छ, त्यो सन्तोषजनक नै छ । जनताले बिस्तारै बुझ्दै जान्छन् ।’
प्रधानमन्त्री प्रचण्डले आफूले नेतृत्व सम्हालेपछि सरकारका कामको प्रभाव सबैभन्दा बढी शहरमा परेको तर निर्वाचन परिणाम त्यस अनुरुप नआएकोमा आश्चर्य व्यक्त गरे । ‘आर्थिक बृद्धिदर, लोडसेडिङको अन्त्य लगायतका कामले शहरलाई नै छोएको छ । निर्वाचन परिणाम केही अन्तरविरोधी देखिएको छ । तर, जनताले क्रमशः बुझेर प्रदेश र संघको निर्वाचनसम्म पुग्दा हामीलाई फेरी विश्वास गर्नुहुन्छ । सरकारबाट सबैभन्दा बढी लाभ लिएको शहरको वर्गले किन विश्वास गरेन रु हामी त्यसको समीक्षा गर्छौं । विगतको समीक्षा गरेर नयाँ रणनीति बनाएर हामी अघि बढ्छौं,’ उनले भने ।
प्रधानमन्त्रीले जेठ १५ गते नै राजनीतिक सहमतिमा बजेट ल्याउने सोचमा रहेको पनि बताए ।







