प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एकको मृत्यु

कालिकोट , मतपेटिका जोगाउन प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक स्थानीयको मृत्यु भएको छ । प्रहरी र निर्वाचनअधिकृतको टोलिमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका नरहरिनाथ गाउँपालिका–६ का राप्रपा वडा अध्यक्षका उम्मेदार समेत रहेका ४५ वर्षका धनरुप बटालाको मृत्यु भएको हो ।
उनको कम्मरमा गोली लागेको थियो । प्रहरीले चलाएको गोली लागेर सोही वडाका बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ता ब्यासी बिक, स्थानीय दानबहादुर बटाला, कल बटाला घाइते भएका छन । तीन जना प्रहरी समेत घाइते भएका छन् ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मा रहेको सेरापाटा मतदान केन्द्रमा मतदान सकिए लगतै आइतबार नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मत पेटिका लुटेर जलाई दिएका थिए । मतदान अधिकृतलाई नियन्त्रणमा लिएर मत पेटिका लुट्न खोज्दा प्रहरी र कार्यकताबीच झडप भएको थियो ।







