जाजरकोटको मुख्य मुद्दा सडक

जाजरकोट,

  • सडक नहुँदा गाउँमा उत्पादित कृषि उपज सड्यो
  • बिरामी हुँदा अस्पताल पुग्ने सवारी साधन पाइँदैन
  • व्यापारिक महत्त्वका जुम्ला, डोल्पा जोड्ने सडक अलपत्र

भेरी नगरपालिका बाहेक अन्य गाउँपालिकामा नियमित गाडी चल्दैन । बजार नपाएर गाउँमा उत्पादित फलफूल, तरकारी र जडीबुटी त्यत्तिकै खेर गइरहेको छ । बिरामी हुँदा अस्पतालसम्म पुग्न सकस छ । अभावै अभावमा जीवन कष्टकर भएपछि मतदाताले अहिलेको चुनावमा सबै स्थानीय तहमा सडकलाई नै मुख्य माग बनाएका  छन् ।

भौगोलिक विकटता भएको जाजरकोटमा सडक अभावसँगै सबै समस्या जोडिएको मतदाताको अनुभव छ । ‘हामीलाई बिरामी हुँदा अस्पताल पुग्ने सडक छैन । जति चुनाव आए पनि सडक नै मागिरहेका छौं,’ कुशे गाउँपालिका–५ दम्दालाकी ४७ वर्षीया पदमकला मल्लले भनिन्, ‘गाउँसम्म सडक पुगे जीवन फेरिने थियो । गाउँसम्म गाडी आउने भए जडीबुटी, सुन्तला र आलु बजारसम्म लगेर बेच्थ्यौं ।’

सडक राम्रो नहुँदा वर्षौंदेखि दु:ख पाइरहेको कुशे–५ पाँचकाटियाका ८० वर्षीय खर्कबहादुर खत्रीले बताए । सडक नहुँदा किसानले फलफूल र तरकारी सस्तोमा बेच्नुपरेको उनले बताए । ‘सडक राम्रो नहुँदा सुन्तला र आलु त्यत्तिकै खेर गइरहेका छन्,’ उनले भने, ‘यो फलफूल राम्रो उत्पादन हुने ठाउँ हो । सडक भए हामीले मिहेनतको राम्रो फल पाउने थियौं । जति दु:ख गरे पनि बिक्री गर्ने ठाउँ छैन ।’

लामो समयदेखि जिल्लाका ३१ सडकको निर्माण अलपत्र छ । तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा सहरी सडक अलपत्र परेका हुन् । जाजरकोटवासी आन्तरिक सडकका साथै जुम्लासँग जोडिने तीन रणनीतिक सडकको पूर्णता चाहन्छन् । जाजरकोट–जुम्ला सडक पूरा भएमा कर्णाली पुग्ने यो सबैभन्दा छोटो बाटो हुनेछ । जाजरकोटलाई जुम्लासँग जोड्ने तीन सडक छन् । जाजरकोट पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला ७० किलोमिटर, जाजरकोट छेडा–चाँदे–जुम्ला ९० किलोमिटर र पाँचकाटिया–बारेकोट–चाखुरे हुँदै जुम्ला १ सय ४० किलोमिटरका सडक छन् । व्यापारिक दृष्टिकोणले कर्णालीलाई तराईसँग जोड्ने महत्त्वपूर्ण माध्यम मानिएका यी सडकको बजेट अभाव कारण देखाउँदै टेन्डरसमेत रद्ध गर्ने गरिएको छ ।

भारत–चीन जोड्ने अत्यधिक महत्त्वको भेरी करिडोर अन्तर्गत १ सय १६ किलोमिटरको जाजरकोट–डोल्पा खण्ड पनि अर्को महत्त्वपूर्ण सडक हो । कर्णालीका जुम्ला र डोल्पाको केन्द्र नै जाजरकोट बन्नसक्ने गरी तय भएका यी सडक पूरा भएमा जिल्लाको विकासमा टेवा पुग्ने स्थानीयको आशा छ । जाजरकोट–जुम्ला जोड्ने तीन सडकका लागि हरेक वर्ष २० करोड र जाजरकोट–डोल्पा भेरी करीडोरका लागि ४० करोड बजटे आवश्यक पर्ने सडक डिभिजन चौरजहारीका प्रमुख आशिष थापा मगरले बताए ।

प्रतिवर्ष सहरी सडकमा ४ लाख र क्षेत्रीय सडकमा ८ लाख मात्र बजेट विनियोजन हुने गरेको थापाले बताए । ‘थोरै बजेटले सडक निर्माण पूरा हुन सक्दैन । भएका काम पनि अलपत्र हुन्छन्,’ उनले भने, ‘पर्याप्त बजेट नहुँदा काम बीचमै रोकिन्छ ।’ निर्माण व्यवसायीको लापरबाहीले छेडा–चाँदे–जुम्ला सडकको छेडा–मोर्क खण्डको कालोपत्रे गर्ने काम दुई वर्षदेखि अलपत्र छ ।

काम सुरु भएको दुई वर्ष बित्दा पनि निर्माण छेडा बजारभन्दा अघि बढ्न सकेको छैन । त्यस्तै खलंगा–पाँचकाटिया–जुम्ला सडकको २२ किलोमिटर दूरीको खलंगा–पाँचकाटिया खण्डको निर्माण पनि अलपत्र छ । उक्त खण्डको निर्माण सुरु भएको १० वर्ष बित्दा पनि स्थिति सुधार हुन सकेको छैन ।

अर्थमन्त्रालयबाट बजेट विनियोजन गर्न राजनीतिक पहँुच नहुँदा सडक निर्माणका कामहरू अलपत्र परेको स्थानीयको गुनासो छ । जाजरकोट–जुम्ला सडक पाँचकाटिया र मोर्क बजारमै अलपत्र छन् । जाजरकोट–डोल्पा भेरी करिडोरको ट्रयाक खोल्ने काम डोल्पाको सिमाना त्रिवेणीसम्म पूरा भए पनि स्तरोन्नतिको काम सदरमुकाम खलंगास्थित जिरो प्वाइन्टमै सीमित छ ।

जिल्लामा बजेट ल्याउन प्रभावशाली नेताको खाँचो महसुस गरेको कुशे गाउँपालिका–५ दम्दालाका ५३ वर्षीय खड्कबहादुर बिष्टले बताए । ‘नेता राम्रो नभई विकासको बजेट आउने रहेनछ । हामीलाई सडक चाहिएको छ,’ उनले भने, ‘अब जित्ने नेताले पहिलो काम सडककै लागि गर्नुपर्छ । सडकका लागि केही गर्न नसक्ने नेतालाई हामी भोट हाल्दैनौं ।’ सडकसँगै छिन्चु–जाजरकोट–डोल्पा खण्डमा पुल निर्माण पनि अलपत्र छन् । चिसापानी वैरीताल, पासागाड, सिम्लेखोला, नलसिंहगाड, ताँत्रगाड लगायत दर्जन पुल निर्माण अलपत्र छन् । जाजरकोट, चाँदे–जुम्ला सडक खण्डको मोर्क पुल बनेको छैन ।

केही गर्छु भन्दैनन्, भोट मात्रै हाल भन्छन्
कुदु– दिनहुँ भेरी नगरपालिका–१३ कुदुमा उम्मेदवारको भीड लाग्छ । सबैले आफ्ना पार्टीको चुनाव चिह्नमा भोट हाल्न अनुरोध गर्छन् तर चुनाव जितेर गएपछिको कार्यसूचीका बारेमा मौन बस्छन् । यस्ता दृश्यले स्थानीय ५९ वर्षीय भीमबहादुर बटालालाई झनक्क रिस उठ्छ । ‘हामी यो–यो काम गर्न सक्छौं, यसकारण भोट दिनु भन्ने हो नि । यहाँ त खाली भोट हाल मात्रै भन्छन्,’ उनले भने, ‘नेताहरूमा केही गर्ने छाँट देखिएन । मैले त कुरै पत्याइनँ ।’

यस्तो तरिकाले नेताहरूले चुनावपछि केही गर्लान् भन्ने आशा गर्न नसकिने उनले बताए । ‘चुनाव जितेपछि के गर्न सक्छु भन्नेसम्म थाहा नभएका नेताले कसरी गाउँको विकास गर्लान् ?’ उनले भने, ‘धेरै उम्मेदवार यस्तै खालका छन् । उम्मेदवार भइहाले । चुनावमा हिँडेका छन् तर गर्नुपर्ने के हो केही थाहै छैन ।’

आफ्नो तर्फबाट केही नभन्ने र मतदाताले माग राखे सबै गरिहाल्छु भन्ने परम्परागत जवाफ बोकेर उम्मेदवार हिँडिरहेको ६५ वर्षीय अमित बटालाले बताए । ‘यहाँ वर्षौंदेखि खानेपानीको ठूलो समस्या छ । वर्षाको भेलमा पनि भेरीको पानी खान बाध्य छौं,’ उनले भने, ‘हरेक चुनावमा खानेपानीको माग राख्दै आयौं । कसैले केही सुनेन । अहिले पनि खानेपानी चाहियो भन्दा घरघरमा धारा जोडिदिन्छौं भन्छन् । कसले पत्याउँछ यस्ता कुरा ?’

५७ वर्षीया गोपिली बटाला पनि भोट दिएबापत केही नपाएको गुनासो गर्छिन् । ‘लोग्ने मान्छेलाई त रक्सी खुवाउँछन् । भेस्ट, टोपी दिन्छन् । हामीलाई त केही दिँदैनन् । एक माना चामल दिए पनि छाक टार्दा हौं,’ उनले भनिन्, ‘भोट माग्ने मान्छेले गरिब दु:खीलाई उँभो लगाउने काम गर्नुपर्‍यो । रक्सी र टोपी बाँडेर हुन्छ ?’

पञ्चायत कालमा पञ्च सदस्य र उपप्रधानसम्म भएका कुदुका सबैभन्दा ज्येष्ठ सदस्य ९४ वर्षीय लक्ष्मण बटाला नेताहरू विकास गर्नभन्दा कमाउन तर्फ बढी लागेको गुनासो गर्छन् । ‘स्वार्थका लागि नेताहरू मिलिरहेका छन् । विकास गर्न मिल्दैनन् । आफ्नो स्थिति सुधार्न लागे, जनताको स्थिति उस्तै छ,’ उनले भने, ‘भोट मात्रै मागेर हुँदैन । मतदाताले विश्वास गर्ने काम पनि गरेर देखाउनुपर्छ ।’

९१ वर्षीया लाली बटाला पनि नेताहरू भोट माग्न मात्रै आउने गरेको गुनासो गर्छिन् । ‘चुनाव जितेपछि पनि जनता हेर्ने चलन भएन,’ उनले भनिन्, ‘नेताहरू जनताका घरमा अरू समयमा पनि आउनुपर्छ ।’ तत्कालीन जगतिपुर गाविसका अध्यक्ष गोपालबहादुर बटाला कुदुमा खानेपानी, लिफ्ट सिँचाइ र उच्च माविको ठूलो आवश्यकता भएको बताउँछन् । जनताले पटकपटक माग गरे पनि बजेट अभावमा काम हुन नसकेको उनको भनाइ छ ।

२०५४ मा एमालेबाट गाविस अध्यक्ष निर्वाचित बटाला अहिले पनि वडाध्यक्षको उम्मेदवार छन् । ‘त्यतिबेला युद्धको त्रासले जनतामाझ एजेन्डा बनाएर छलफल गर्न पाएनौं । लुकीलुकी पद धान्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले त जनतासँग समस्याबारे सुरुमै प्रत्यक्ष छलफल गर्न पाइएको छ । चुनावपछि पनि यो वातावरण रहिरहन्छ । जसले जिते पनि सहजरूपमा काम गर्न सक्छ ।’

 




सम्बन्धित समाचार


error: Content is protected !!