सरकार र मधेशी मोर्चाबीच सहमति : तर, सहमति पत्रमा हस्ताक्षर गर्न मानेन मोर्चाले

काठमाडौ , संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच सहमति भएको छ ।
सहमति पछि सरकारले सहमति पत्रमा हस्ताक्षर गरेर अगाडि बढ्न भनिरहेको छ । तर, मधेशी मोर्चाले भने हस्ताक्षर गर्न मानेको छैन ।
बैठकबाट एक नेताले गराएको जानकारी अनुसार मधेशी मोर्चाका नेताले सहमति भएका विषयलाई तत्काल संविधान संशोधन गरेर टुग्यांउन भनिरहेको छ ।
‘सरकारले सहमतिमा हस्ताक्षर गरौं, त्यसपछि सविधान संशोधन गरौँला भनिरहेको छ । यसमा कुरा मिलिरहेको छैन,’ बैठकबाट एक नेताले जनकारी दिए ।
यद्यपी के के कुरामा सहमति भएको छ, ती नेताले खुलाएनन् । उनले यति भने, ‘सहमति भइसकेको छ, हामीले यसलाई सविधान संशोधन गरेर चाँडै टुग्याउन भनेका छौँ, हेरौँ के हुन्छ ।’
बैठक यतिबेला बालुवाटारमा जारी रहेको छ ।
भाषामा बहुभाषिक नीति राख्नुपर्ने, अंगीकृत नागरिकताधारीलाई वंशजको जस्तो अधिकार दिनुपर्ने, स्थानीय निकायलाई प्रदेश अन्तरर्गत राख्नुपर्ने, स्थानीय तहको संख्या बढाउनुपर्ने, संविधानको धारा २७४ संशोधन गरि प्रदेशको विवाद समाधान गर्ने अधिकार सम्बन्धित प्रदेशलाई नै दिनुपर्ने लगायतका विषय विधेयकमा संशोधन गर्नुपर्ने माग मधेशी मोर्चाले गर्दै आएको छ ।
यसमा हिजो भएको वार्तामा सरकार सकारात्मक भएको थियो । त्यसलाई अन्तरिम रुप दिनका लागि हिजो चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलदमा मधेशी मोर्चाका लक्ष्मण लाल कर्ण, राजेन्द्र श्रेष्ठ तथा सरकारको पक्षबाट कृष्ण सिटौला र बुद्धिमान तामाङ रहेका थिए ।








