नसा च्यापिएको उपचार नभए प्यारालाइसिसको खतरा

नसा च्यापिने समस्या लिएर कैयौँ व्यक्ति अस्पताल आइपुग्छन् । नसा च्यापिएपछि महिनौँ थेरापिस्टकहाा धाउँदा पनि निको नभएर हैरान भएका व्यक्ति भेटिन्छन् । आखिर नसा के कारणले  च्यापिन्छ ? वीर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. श्रीकृष्ण गिरी भन्छन् :

नसा च्यापिने  केही कारण
अव्यवस्थित जीवनशैली नै नसा च्यापिने एउटा प्रमुख कारण हो । खानपिन मात्रै होइन, शरीरको पोजिसन कसरी राख्छौँ भन्ने कुराले नसाको समस्या निर्धारण गरिरहेको हुन्छ । शरीरले सहज महसुस गर्ने आसनमा बस्नुपर्छ ।

 

लामो समयसम्म एउटै आसनमा बसेर काम गर्दा पनि नसा च्यापिने खतरा रहन्छ । लामो समयसम्मको एउटै आसनका कारण नसामा बढी नै दबाब पर्‍यो भने च्यापिने हुन्छ ।

 

गह्रौँ सामान उचाल्दा, बोक्दा र राख्दा तथा शरीरलाई अत्यधिक भार पर्ने काम गर्दा पनि नसामा खलल पुग्न सक्छ र च्यापिने सम्भावना हुन्छ । त्यसैले शरीरले थेग्न सक्नेगरी मात्रै काम गर्नुपर्छ ।

 

दुर्घटनामा पर्दा नसा च्यापिन सक्छ । शरीरको अनावश्यक मुभमेन्टले पनि यो समस्या निम्त्याउँछ । खेल्दा तथा दौडिँदा शरीर सन्तुलनमा रहेन भने नसामा दबाब परेर च्यापिन सक्छ ।

 

लामो समयसम्म कम्प्युटर, ल्यापटपजस्ता सामानको प्रयोग गर्दा, लामो समयसम्म ड्राइभिङ गर्दा पनि ढाडको नसामा दबाब पर्न जान्छ । यस्तो बेला शरीरमा थोरै मात्रै असन्तुलन हुँदा  पनि हड्डीभित्रको डिस्कले नसा च्यापिने गर्छ ।

 

नसा च्यापिएपछि  देखिने लक्षण
नसा च्यापिँदा पीडा महसुस हुन्छ । यस अवस्थामा अत्यधिक दुख्ने, शरीर पोल्ने, एकै आसनमा बसिरहन नसक्ने, हातगोडा दुख्ने, शरीर झमझमाउने, निहुरिएर काम गर्न नसक्नेजस्ता समस्या देखिन्छन् ।

 

वेलैमा उपचार गरे ठीक हुन्छ
अधिकांशको डाढकै नसा च्यापिन्छ । हड्डीको बिचमा रहेको डिस्क बाहिर निस्केर नसा च्यापिएपछि असर गोडामा देखिन्छ । यस्तो समस्यामा तत्काल उपचार सुरु गर्नु पर्छ । दैनिक रूपमा फिजियोथेरापी गरेर डिस्कलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ । तर, लामो समयसम्म च्यापिएको नसाको थेरापी नभए प्यारालाइसिस हुनसक्ने खतरा रहन्छ । जटिल अवस्थामा पुगेपछि फिजियोथेरापीले कुनै काम नगर्न सक्छ ।





error: Content is protected !!