नवराज सिलवाल निकट रहेको आरोपमा सुन तस्करलाई पाता कस्ने प्रहरी अधिकृतको सरुवा

काठमाण्डु, ७ वैशाख–  प्रहरी महानिरीक्षक प्रकाश अर्यालको ठाडो निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत चार जना अनुसन्धान अधिकृत एकैपटक तानिएका छन्। निर्वाचन सेलमा तानिने अधिकृतमा तीन डिएसपी र एक इन्स्पेक्टर छन् ।

डिएसपी प्रवीण पोखरेल, रेशम पराजुली, दधिराम न्यौपाने र इन्स्पेक्टर रुगम कुँवरलाई सिआइबीबाट केन्द्रीय निर्वाचन सुरक्षा सेलमा खटाइएको हो । ब्युरो प्रमुख नवराज सिलवाल निकट रहेर काम गरेको आरोपमा ती अधिकृतले सरुवा पाएको बताइएको छ । अपराध अनुसन्धानमा पोख्त ती अधिकृतलाई केन्द्रीय निर्वाचन सेलमा खटाइएको पत्र थमाइएको छ ।   प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खास जिम्मेवारी नरहेको चुनावी सेलमा खटाइएका ती अधिकृतको ठाउँमा कसैलाई पठाइएको छैन । साढे ३३ किलो सुन तस्करीदेखि नक्कली डाक्टर, पाइलट पक्राउ अभियानका ‘खम्बा’ रहेका ती अधिकृतलाई एकैपटक तान्नुलाई शंकास्पद मानिएको छ ।

प्रहरी महानिरीक्षक नियुक्तिमा डिआइजी नवराज सिलवाल कानुनी रुपमा अगाडि बढेपछि उनलाई सहयोग गर्नसक्ने आशंकामा उनीहरूलाई एकैपटक तानिएको स्रोतले बतायो । अनुसन्धानमा दक्ष अधिकृतलाई फोनै मात्र उठाउने जिम्मेवारी दिइएको भन्दै वरिष्ठ प्रहरी अधिकारीहरूले असन्तुष्टि जनाएका छन् । ‘यो ब्युरोको सक्रियतालाई निष्तेज पार्ने षडयन्त्र हो,’ एक अधिकारीले  भने ।   तानिएकामध्ये डिएसपी पोखरेल सिआइबीको स्थापनाकालमै काम गरिसकेका अधिकृत हुन् ।

राजेन्द्रसिंह भण्डारी सिआइबीको संस्थापक निर्देशक हुँदा इन्स्पेक्टर रहेका उनले रातो पासपोर्ट दुरुपयोग घटनामा आरोपी संसद पक्राउ गर्ने तथा मुद्दा अभियोजनको काम गरेका थिए । त्यस्तै, पाँच गुन्डा नाइकेहरूको सम्पत्ति शुद्धिकरण मुद्दामा उनले विशेष अनुसन्धान गरेका थिए । चारै जना अधिकृतलाई निर्वाचन सेलमा खटाइएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले प्रहरी अधिकृतको सरुवा नभएर निर्वाचनका लागि खटाइएको बताए । ‘उनीहरूको सरुवा भएको हैन, उनीहरूजस्तै धेरै अधिकृतहरू निर्वाचनका लागि खटाइएका छन्,’ उनले भने । पोखरेल पछिल्लो समय त्रिभुवन विमानस्थलबाट बरामद साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्ने अधिकृत हुन् । डिएसपी पोखरेलले सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्रीलाई प्रहरी मुख्यालयबाट पक्राउ गरेर हिरासतमा लिएका थिए । सुनकाण्डको अनुसन्धानको क्रममा अनेक धाकधम्की खेपेका पोखरेललाई सरुवा गराउन पहिलेदेखि नै सुन तस्करहरू लागिपरेका थिए। डिएसपी न्यौपाने अपराध अनुसन्धानमा पोख्त अधिकृत मानिन्छन् ।

पोलिग्राफका विज्ञ उनी लामो समयदेखि सिआइबीमै कार्यरत थिए । सिआइबी स्रोतका अनुसार केन्द्रीय चुनावी सेलमा खटाएका चारमध्ये डिएसपीहरू पोखरेल र न्यौपाने सिआइबीबाट बिदा भएर प्रहरी मुख्यालयमा हाजिर भइसकेका छन् भने डिएसपी पराजुली र इन्स्पेक्टर रुगम कुँवर २० दिनको लागि बिदा बसेका छन् । डिएसपी पराजुली जरुरी घरायसी कामले बिदा बसेका छन् भने इन्स्पेक्टर कुँवर आफ्ना ८१ वर्षीय बिरामी बुबाको उपचारमा नेपाल प्रहरी अस्पतालमा खटिएका छन् । अपराध अनुसन्धानमा विज्ञ इन्स्पेक्टर कुँवर करिब दुई वर्षदेखि सिआइबीमा कार्यरत छन् ।

सिआइबीमा कार्यरत रहँदा रेगी पब ठमेलमा एक दसक अगाडि विदेशी नागरिकको हत्या भएको घटनादेखि दर्जनौं जघन्य अपराधको अनुसन्धान गरेका कुँवरले तत्कालीन महानगरीय प्रहरी प्रभाग लैनचौरको प्रमुख हुँदा १७० वर्ष जेल सजाय तोकिएका चेलिबेटी बेचबिखनका नाइके सिन्धुपाल्चोकका बजिरसिंह तामाङलाई पक्राउ गरेका थिए । त्यस्तै, सिआइबीको स्थापनाकालदेखि आर्थिक अपराध पिलरमा कार्यरत डिएसपी पराजुली आर्थिक अपराधको अनुसन्धानमा विज्ञ मानिन्छन् । जटिल किसिमका सयौं आर्थिक अपराधको अनुसन्धान गरेका उनलाई सिआइबीबाट हटाइएपछि आर्थिक अपराध सम्बन्धी अनुसन्धान तथा विभिन्न मुद्दाको अभियोजनमा समस्या पर्ने सिआइबीकै अधिकारीहरू बताउँछन् । डिएसपी पराजुली इन्स्पेक्टर हुँदा लामो समय महानगरीय अपराध महाशाखामा काम गरेका अधिकृत हुन् ।

तत्कालीन डिआइजी राजेन्द्रसिंह भन्डारीको रोजाइमा परेर उनी सिआइबीको स्थापनाकालदेखि त्यहीँ कार्यरत छन् । सिआइबीले हालसम्म अनुसन्धान गरेका सम्पत्ति शुद्धिकरण, बैकिङ कसुरलगायत मुद्दामा अनुसन्धान उनी हालका आइजिपी अर्यालकै मातहतमा समेत काम गरिसकेका थिए । आइजिपी विवाद सम्बन्धमा आगामी १९ गते सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइको लागि पेशी तोकिएको र डिआइजी सिलवाललाई कोही कसैले केही सहयोग गर्न नपाउन् भन्ने उद्देश्यले चार जना अधिकृत त्यहाँबाट हटाइएको स्रोतले जनाएको छ । सिआइबीका प्रमुख सिलवाल पनि स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाह अनुसार आरामको लागि बिदा बसेका छन् । डिआइजी सिलवाल बिदा बसेपछि हाल सिआइबीको नेतृत्व एसएसपी शेरबहादुर बस्नेतले सम्हाल्दै आएका छन् ।

प्रहरी मुख्यालय स्रोतका अनुसार केन्द्रीय निर्वाचन सेलमा खटाइएका चारमध्ये बिदामा रहेका डिएसपी पराजुली र इन्स्पेक्टर कुँवरको स्वीकृत बिदा बदर गरेर प्रहरी मुख्यालयमा यथाशीघ्र हाजिर गराउन आइजी सचिवालयले एसएसपी बस्नेतलाई चर्को दबाब दिइरहेको स्रोतले जनायो ।




सम्बन्धित समाचार


error: Content is protected !!