एमालेकै बुद्धिजिवीले गरे पार्टी घोषणापत्रको आलोचना

काठमाडौं – नेकपा एमाले निकटका बुद्धिजिवीहरुले पार्टीले ल्याउन लागेको स्थानीय चुनावको घोषणापत्रप्रति असन्तुष्टि जनाएका छन् । घोषणापत्रमा निर्वाहमूखि कृषिलाई नै प्राथमिकतामा राखेको, देश विकासको स्पष्ट नारा नदिएको, स्वरोजगारको योजना नल्याएकोलगायतका कमजोरी औंल्याउँदै घोषणापत्र हाँसोको विषय नहोस् भन्दै चेतावनी समेत दिएका छन् ।

घोषणापत्रबारे एमालेका बुद्धिजीवीहरुसँग सुझाव लिने उद्देश्यले आयोजना गरिएको ‘एमाले पार्टी स्थानीय तह निर्वाचनः मुद्दा पहिचान र बौद्धिक समुदायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै प्राध्यापक महेशराज दाहालले घोषणापत्रमा निर्वाहमूखि कृषिलाई प्राथमिकतामा राखिनु उचित नहुने बताए । उनले अहिलेको आवश्यकता आर्थिक विकास भएको औंल्याउँदै भने, ‘जुन कुरामा लगानीकर्ताको अकर्षण हुन्छ । त्यहीँ ध्यानलाई घोषणापत्रले जोड दिनुपर्छ । २१औं शताब्दीको अहिलेको युगमा त्यही कृषिलाई प्राथमिकता दिइरहनुको अर्थ हुँदैन ।’

देशमा २०३० मा विकाशिल राष्ट्रको हैसियतमा पुग्नको लागि कृषिले नभई ऊर्जा प्रमुख लगानीको क्षेत्र हुनुपर्ने समेत उल्लेख गरे । उनले एमालेको चुनावी नारामा अनेकथरी लेखेर नहुने बताउँदै भने, ‘चीनको वान बेल्ट वान रोड, भारतमा मोदीको मेकिङ इन्डिया, ट्रम्पको अमेरिका फस्ट भन्ने नारा भएजस्तै पार्टीले पनि त्यस्तै नारा तय गर्न सक्नुपर्छ ।’

यस्तै प्राध्यापक विद्यानाथ आचायले घोषणापत्रमै पाँच वर्षमा युवालाई स्वरोजगार बनाउन सक्ने खालको योजना ल्याउनुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा कार्यान्वयन हुने खालका योजनाहरु ल्याउनुपर्नेमा समेत जोड दिए ।
अर्का बुद्धिजिवी टीकाराम भट्टराईले एमालको सबै नेताहरुको संविधानलाई हेर्ने दृष्टिकोण नै गलत रहेको भन्दै यो संविधान विश्वकै उत्कृष्ट नभएको भन्दै खाली प्रगतिशिल मात्रै रहेको बताए ।

उनले एमालेको घोषणापत्र हासोको विषय बन्नसक्नेतर्फ सचेत गराउँदै उनले घोषणापत्रमा कम्युनिटी हेल्थ र कम्युनिटीलगायतका महत्वपूर्ण सवाललाई नजरअन्दाज गरिएको आरोप लगाए । यस्तै उनले स्थानीय तहमा जित्ने आफ्ना कार्यकर्ताले भ्रष्टाचार गर्ने छैनन् भन्ने कुरा पनि घोषणापत्रमै आउनुपर्नेमा जोड दिए ।

यस्तै अर्का बुद्धिजिवी गणेश विकले १० वर्षमा सबै किसिमका विभेदको अन्त्य गर्ने खालको प्रतिबद्धता घोषणापत्रमा आउनुपर्नेमा जोड दिए ।
यस्तै तेजबहादुर ढकाल, भारती पाठक, रमेश ढकाललगायतले भने पार्टीले तयार गरेको घोषणापत्र सकारात्मक रहेको बताएका थिए ।

सो अवसरमा बोल्दै सचिव प्रदीप ज्ञवालीले घोषणापत्रको मुख्य पाँच बुँदा प्रस्तुत गरेका थिए । ति पाँच बुँदामा कृषिको आधुनिनिकरण र व्यवसायिक करण गर्ने, १०८०० मेगावाट विजुली कर्णालीबाट निकाल्ने, पर्यटनबाट लगानी बढाउने, शिक्षामा प्राइभेट र सरकारीबीचको तालमेल मिलाउने तथा सरकारी शिक्षामा सुधार गर्ने र सामाजिक सुरक्षाका विषयमा आधुनिकीकरण गर्ने रहेका छन् ।
यस्तै एमाले उपमहासचिव धनश्याम भुसालले घोषणापत्र अपूरो रहेको संकेत गर्दै टिप्पणी गरेका थिए ।

उनले घोषणापत्रमा एमालेले किन जिन्तुपर्छ भन्ने कुरामा प्रष्ट नभएको उल्लेख गर्दै विकासका कुरा गरेर मात्रै त्यो कसरी सम्भव छ भन्ने कुरालाई पनि उजागर गरिनुपर्नेमा जोड दिए ।
यस्तै सचिव योगेश भटटराईले बुद्धिजिविहरुले एमालेको पक्षमा लबिङ गरिदिनुपर्नेमा जोड दिए ।

एमालेले ‘एक घरः एक रोजगार’ नारासहित स्थानीय तह निर्वाचनको घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको छ । पाँच वर्षभित्र १८ वर्ष पुगेका सबै युवालाई रोजगारी सुनिश्चित गर्ने, प्रतिव्यक्ति आयलाई पाँच वर्षभित्र पाँच हजार डलर पुर्याएर दक्षिण एसियालाई उछिन्ने महत्वाकांक्षी योजनालाई समेत एमालेले घोषणापत्रमा समेटेको छ ।

केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि एक साताभित्र घोषणापत्र सार्वजनिक भइसक्ने एमालेले बताएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट फकिर्एसँगै बस्ने केन्द्रीय समिति बैठकले घोषणापत्रलाई अनुमोदन गर्ने बताइएको छ । यो बीचमा एमालेले विभिन्न क्षेत्रसँग छलफल गरेर सुझाव संकलन गर्दै आएको छ ।





error: Content is protected !!