रुकुमका तीन नगरपालिकामा दलहरू उम्मेदवार छान्दै

मनीष खड्का, रुकुम , आसन्न स्थानीय तह निर्वाचनको चहलपहल मध्यपश्चिमको पहाडी जिल्ला रुकुममा पनि बढेको छ । १० वर्षे सशस्त्र संघर्षको केन्द्रका रूपमा रहेको रुकुमका जनता व्यग्रताका साथ निर्वाचनको प्रतीक्षामा छन् । १९ वर्षपछि हुन लागेको निर्वाचनमार्फत स्थानीय तहमा आफ्ना जनप्रतिनिधि चयन गर्न रुकुमवासी उत्साही देखिएका छन् । रुकुममा मुसिकोट, आठबिसकोट र चौरजहारी गरी तीन नगरपालिका छन् । यस्तै, पुथाउत्तरगंगा, भूम्या, सिस्ने, वाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका छन् । यी स्थानीय निकायमा राजनीतिक दलहरू उम्मेदवार चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन् भने मेयर र उपमेयर बन्न आकांक्षीले दौडधुप गरिरहेका छन् । उम्मेदवारका आकांक्षी धेरै हुँदा जिल्लाका मुख्य तीन पार्टीलाई उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको छ । सबै पार्टीमा एकभन्दा बढी आकांक्षी हुँदा व्यवस्थापनमा चुनौती थपिएको हो । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले धेरै आकांक्षी देखिनु स्वाभाविक नै भएको दलका नेताहरूको भनाइ छ ।
माओवादी केन्द्रका आकांक्षी
माओवादी केन्द्रले नौ स्थानीय तहमध्ये एक नगरपालिका र एक गाउँपालिकामा मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको छनोट गरिसकेको छ । तर, चौरजहारी नगरपालिकामा विशाल शर्मा, राजकुमार शर्मा र इन्द्रलाल शर्मा, आठबिसकोट नगरपालिकामा गोरखबहादुर केसी र रातो कामीको दाबेदारी छ । पुथाउत्तरगंगा गाउँपालिकामा पुनिराज घर्ती, निर्माण बुढा रवि, भुम्या गाउँपालिकामा रामसुर बुढा, गजेन्द्रबहादुर ओली कैलाश र मेघबहादुर श्रेष्ठ महेशले अध्यक्षमा आकांक्षा देखाएका छन् । सिस्ने गाउँपालिकामा कृष्ण रेग्मी र कुमारी बराल, वाँफीकोट गाउँपालिकामा धर्मबहादुर केसी र चन्द्रबहादुर केसी, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन र बिर्खबहादुर विष्टको नाम चर्चामा छ ।
कांग्रेस–एमालेले वैशाख पहिलो साता टुंग्याउने
कांग्रेस र एमाले पनि उम्मेदवार छनोटको तयारीमा छन् । दुवै पार्टीले अहिले आन्तरिक छलफल चलिरहेको र वैशाख पहिलो सातासम्ममा जिल्लाका सबै स्थानीय तहबाट उम्मेदवारको टुंगो लगाइने बताएका छन् । एमाले अहिले पार्टीको संगठन विस्तारमा व्यस्त छ भने कांग्रेस उम्मेदवार छनोटको आन्तरिक तयारीमा रहेको छ । जिल्लाका सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाउन वैशाख पहिलो सातासम्मको समय लाग्ने कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए । त्यस्तै, एमाले अध्यक्ष विमलकुमार पुनले संगठन निर्माणको काम भइरहेको बताउँदै वैशाख पहिलो सातासम्ममा उम्मेदवार छनोट गरिने बताए ।
एमाले आकांक्षीका नाम
एमालेको तर्फबाट मुसिकोट नगरपालिकामा विमलकुमार पुन र माधवप्रसाद गौतम, आठबिसकोट नगरपालिकामा हरिप्रसाद शर्मा र सुरज परियार, चौरजहारी नगरपालिकामा ऋषिप्रसाद शर्मा र कल्याणी खड्काले मेयरको आकांक्षा देखाएका छन् । मुसिकोट नगरपालिकामा आकांक्षा राखेका विमल पुन पार्टीका जिल्ला अध्यक्ष हुन् भने माधवप्रसाद गौतम उपसचिव हुन् ।
पुथाउत्तरगंगा गाउँपालिकामा भीउमान घर्ती र सतमान पुन, भुम्या गाउँपालिकामा आशा स्वर्णकार, सिस्ने गाउँपालिकामा देवी ओली र नन्दलाल शर्मा, वाँफीकोट गाउँपालिकामा विद्यापती रिजाल र नन्दराम देवकोटा, सानीभेरी गाउँपालिकामा मनवीर घर्ती, त्रिवेणी गाउँपालिकामा गणेश खड्का र धनराज खड्काले अध्यक्ष पदको लागि तयारी थालिसकेका छन् ।
मुसिकोटमा माओवादीबाट देवीलाल गौतम
माओवादी केन्द्रले रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा देवीलाल गौतम र उपमेयरमा प्रेमकुमारी सुनार केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार पनि चयन गरेको छ । त्रिवेणी गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्टलाई उम्मेदवार बनाउन गाउँपालिका बैठकले पार्टीको जिल्ला समितिमा सिफारिस गरेको हो । माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति संयोजक गोपाल शर्मा अनलले अब सिफारिस गरिएका दुवै नामलाई प्रदेश समितिले अनुमोदन गरेपछि उम्मेदवार घोषणा गरिने जानकारी दिए । उनले नगर र गाउँपालिकामा रहेका सबै एक सय चारवटा वडाको अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार छनोटको गृहकार्य भइरहेको भन्दै वैशाख पहिलो साताभित्र सबै उम्मेदवारको अन्तिम नाम टुंगो लाग्ने बताए ।
यस्ता छन् कांग्रेसका आकांक्षी
कांग्रेसबाट मुसिकोट नगरपालिकामा मोहवीर खड्का, गोरखबहादुर केसी, महेन्द्र केसी, सुरजजंग चन्द र राजु केसी, आठबिसकोट नगरपालिकामा धीरेन्द्र बटाला र गंगाराम गौतम, चौरजहारी नगरपालिकामा तिलक भण्डारी, प्रेमबहादुर ओली र खड्गबहादुर डाँगी आकांक्षी देखिएका छन् । पुथाउत्तरगंगा गाउँपालिकामा हरिशंकर घर्ती, रासबहादुर बुढा, भूम्या गाउँपालिकामा भीमबहादुर खड्का र नन्दबहादुर विष्ट, सिस्ने गाउँपालिकामा लक्षिराम घर्ती र पूर्णजंग शाह आकांक्षी देखिएका छन् । वाँफीकोट गाउँपालिकामा हर्कसिंह खत्री, जनककुमार बाँठा र टेकबहादुर बस्नेत, सानीभेरी गाउँपालिकामा गोरखप्रसाद चन्द, त्रिवेणी गाउँपालिकामा वीरबहादुर ओली र थलबहादुर खड्काले कांग्रेसबाट उम्मेदवार बन्न खोजेका छन् । कांग्रेसले जिल्ला सभापति प्रेमप्रकाश ओलीको संयोजकत्वमा पाँच सदस्यीय उम्मेदवार छनोट कार्यदल बनाएको छ ।



