मुख्य पदमा महिलाको माग

हरि गौतम, रुकुम ,आगामी वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा मुख्य पदमा महिला आकांक्षी पनि देखिएका छन् । जिल्लामा क्रियाशील तीन ठूला दलमा आबद्ध महिलाले नगर र गाउँपालिका प्रमुखको उम्मेदवारमा दाबी गरे त्यसको तयारीसमेत थालेका छन् । उनीहरूले टिकटका लागि पार्टीभित्र लबिइङ पनि थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आबद्ध महिला नेतृहरूले जिल्लाका ९ स्थानीय तहमध्ये करिब आधामा भए पनि महिलाको नेतृत्वमा हुने गरी गराउनुपर्ने माग जोडदार राखेका छन् ।

१ नगरपालिका र २ गाउँपालिकामा प्रमुखका लागि महिलाले लबिइङ थालेका छन् । नेपाली कांग्रेसकी नेत्री मनीषा भण्डारीले चौरजहारी नगर प्रमुखका लागि तयारी गरिरहेकी छन् भने नेकपा एमालेका तर्फबाट कल्याणी खडकाको नाम चौरजहारी नगर प्रमुखको चर्चामा छ । त्यसैगरी सिस्ने गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षका लागि देवी ओलीले लबिइङ गरिरहेकी छन् भने माओवादी केन्द्रका तर्फबाट कुमारी बराल अघि सरेकी छन् । बराल माओवादी केन्द्रको सिस्ने गाउँपालिकाकी अध्यक्षसमेत हुन् । वाँफीकोट गाउँपालिकामा माओवादी केन्द्रकी प्रतिभा केसीले अध्यक्षका लागि आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएकी छन् ।

कांग्रेसका तर्फबाट चौरजहारी नगर प्रमुखमा उम्मेदवारी दिने तयारी गरिरहेकी भण्डारीले महिलाले पनि काम गर्न सक्ने भन्दै अब महिलालाई पनि अवसर दिनुपर्ने बताइन् । सधैं महिलालाई उपमा मात्रै सीमित गर्दै आएको भन्दै उनले आफूलाई उपप्रमुखमा बस्न आएको प्रस्ताव नस्वीकारेको बताइन् । ‘कि महिलाले सक्दैनन् भन्नुपर्‍यो,’ उनले भनिन्, ‘होइन भने पार्टीहरूको परीक्षाको दिन आएको छ, महिलालाई अवसर दिने कि नदिने भन्ने ।’ नेकपा एमालका तर्फबाट सिस्ने गाउँपालिकाको प्रमुखका लागि लबिइङ गरिरहेकी देवी ओलीले पनि महिलाले स्थानीय सरकार चलाउन सक्ने बताइन् । ‘महिलालाई त्यो अवसरको खाँचो छ, अवसर पाए असम्भव भन्ने केही छैन’ ओलीले भनिन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष इन्दिरा बिएमले क्षमतावान महिला हुँदाहुँदै पनि पार्टीहरूले त्यसलाई बेवास्ता गर्ने सम्भावना बढदै गएकोप्रति सचेत रहेको भन्दै सबै पार्टीहरूलाई प्रमुख पदमा महिलालाई पनि उम्मेदवार बनाउन आग्रह गरिएको बताइन् ।

दलहरूले पनि महिलालाई टिकट दिने बताउँदै आएका छन् । कांग्रेस सभापति प्रेमप्रकाश ओलीले उम्मेदवार छनोट कार्य केही दिनभित्रै सुरु हुने भन्दै महिला दलितलाई उम्मेदवार बनाउन कञ्जुस्याईं नगरिने बताए । एमालेका अध्यक्ष विमलकुमार पुनले ९ स्थानीय तहमध्ये आधामा त महिलाकै नेतृत्वमा चुनावी मैदानमा जाने गरी छलफल जारी रहेको बताए । मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष छनोट गरिसकेको माओवादी केन्द्रले भने यी दुवैको प्रमुखमा पुरुषलाई टिकट दिने पक्का भएको छ । उम्मेदवार छनोट गर्न बाँकी अन्य सात स्थानीय तहमध्य केहीमा महिलाको नेतृत्वमा स्थानीय तहमा जाने गरी छलफल भइरहेको उक्त पार्टीका जिल्ला सम्मेलन आयोजक समिति संयोजक गोपाल शर्माले बताए ।
कान्तिपुरवाट ।





error: Content is protected !!