केन्द्र नफेरे निर्वाचन बहिष्कार’

रुकुम , पुथाउत्तरगंगा गाउँपालिकाका–१० र ११ वडा तथा साबिक तकसेरा गाविसवासीले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । ६ महिनादेखि आन्दोलन गर्दै आएका उनीहरूले आफूहरूको मागप्रति सरकार गम्भीर नबनेको आरोप लगाए । मनोनयन दर्ताको दिनसम्म माग सम्बोधन नभए निर्वाचनका सबै गतिविधि प्रतिरोध गर्ने स्थानीयको भनाइ छ ।
शनिबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी संघर्ष समितिले जतिसक्दो चाँडो माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन माग गरेको छ । पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा बनाउनुपर्ने मागसहित तकसेरावासी आन्दोलनमा छन् । सिमाना निर्धारण आयोगले कार्यविधि विपरीत पुथाउत्तरगंगा गाउँपालिकाको कार्यालय तोकिएको उनीहरू बताउँछन् ।
एसईई तथा प्लसटु परीक्षा केन्द्र, कृषि तथा पशुसेवा केन्द्र, इलाका प्रहरी कार्यालय, पक्की र खुला जमिन भएको ठाउँमा गाउँपालिका केन्द्र बनाउनुपर्ने मापदण्ड आयोगले पालना नगरेको समिति संयोजक जुद्ध बुढा मगरले बताए ।
प्रचारमा कलाकार
काभ्रे– कलाकर्मी पनि चुनावको प्रचारमा होमिएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ जिल्ला समितिले निर्वाचनमा कलाकारको भूमिका विषयमा छलफल सुरु गरेको छ । ‘पार्टीका एजेन्डाबारे गीतसंगीतका माध्यमबाट प्रचारप्रसारमा लागेका हौं,’ जिल्ला अध्यक्ष गायक हरि कर्माचार्यले भने, ‘कार्यक्रमसँगै सांस्कृतिक अभियान लिएर गाउँ–गाउँ जान्छौं ।’ एमालेको भ्रातृ संस्था राष्ट्रिय जनसांस्कृतिक महासंघले चुनावी कार्यक्रम लिएर गाउँ पस्ने योजना नबाइरहेको छ ।
कांग्रेसले तोक्यो संयोजक
नुवाकोट– नेपाली कांग्रेसले जिल्लामा निर्धारित नगर तथा गाउँपालिकाका लागि संयोजक तोकेको छ । केन्द्रीय कार्यसमितिको अवधारणाअनुसार जिल्ला समितिले गाउँ तथा नगरका लागि १२ जनालाई संयोजक तोकेको पार्टी जिल्ला सचिव सुरेन्द्र अधिकारीले बताए । उनका अनुसार दुप्चेश्वर, तादी, लिखु, पञ्चकन्या, सूर्यगढी, मेघाङ, किस्पाङ, तारकेश्वर, शिवपुरी र ककनी गाउँपालिकामा क्रमशस् इन्द्रबहादुर पण्डित, नारायण पाण्डे, परशुराम लामिछाने, बैकुण्ठ खनाल, सन्तबहादुर घले, सिंहराज तामाङ, रणबहादुर तामाङ, होमबहादुर तामाङ, प्रेमबहादुर थापा र सुप्पोल लामालाई संयोजक तोकिएको छ । बालकोटगढी र विदुर नगरपालिकामा क्रमशस् गोकुल दाहाल र नेत्रप्रसाद ढकाल संयोजक तोकिएका छन् ।
लिम्बुवानले चुनाव उपयोग गर्ने
दमक– संविधानविरुद्ध आन्दोलनरत संघीय लिम्बुवान पार्टी नेपालले स्थानीय चुनावलाई उपयोग गर्ने रणनीतिसाथ संगठन विस्तार तीव्र पारेको छ ।
संघीय लिम्बुवानको तेस्रो पूर्ण बैठकले आसन्न स्थानीय तहको चुनावलाई कार्यनीतिक र रणनीतिक रूपमा उपयोग गर्ने निर्णय गरेको थियो । संघीय लिम्बुवानका सहअध्यक्ष खगेन्द्र माखिमले भाग पनि नलिने र बहिष्कार पनि नगर्ने रणनीतिसाथ चुनाव उपयोग गर्ने बताए । ‘संविधानविरुद्ध आन्दोलनमा रहेका हामीले चुनावमा भाग लिनु भनेको संविधान स्विकारेको ठहरिन्छ । तर चुनावलाई बहिष्कार गर्दा हामी पनि बहिष्करणमा पर्छांै कि भन्ने हाम्रो विश्लेषण छ,’ माखिमले भने । चुनावी गठबन्धनका लागि लिम्बुवानले पहिचान पक्षधरहरूसँग छलफलसमेत गरिरहेको छ ।
‘चुनाव बिथोल्छौं’
धरान संवाददाताका अनुसार मधेसवादी दलसँग कार्यगत एकता गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गतको संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्दै सीमांकन र नामांकन नभएसम्म चुनावमा सहभागी नहुने बताए ।










