जाजरकोटका एनजीओकर्मीले गाउँ छाडे

जाजरकोट । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन् । गैरसरकारी संस्था महासंघको निर्देशनअनुरूप उनीहरू गाउँ छाडेर सदरमुकाम खलंगा केन्द्रित भएका हुन् ।
पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी भएको हत्यापछि यहाँ कार्यरत एनजीओकर्मीले असुरक्षा महसुस गरेका छन् । उनीहरू आतंकित बनेपछि गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम प्रभावित बनेका छन् ।
प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै जिल्लाभर सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सम्पूर्ण कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरेको सचिव बालकुमार शर्माले बताउनुभयो । असुरक्षाका कारण कार्यक्षेत्रका सबै कर्मचारी सदरमुकाम खलंगा फर्काएको र अनिश्चित कालका लागि कार्यक्रम पनि स्थगित गरेको उहाँको भनाइ छ । ‘सामाजिक क्षेत्रको अगुवाइ गरेका व्यक्तिको सदरमुकाम भित्रै दिनदहाडै हत्या हुनु र ५ दिन बित्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी प्रशासनले अरूको पनि के सुरक्षा देला ?’ उनले भने, ‘सरकारको सहयोगी निकायका रूपमा रहेका गैरसरकारी संस्थामा काम गर्ने सामाजिक कार्यकर्ताको असुरक्षा बढ्दा दुर्गम गाउँमा कसरी काम गर्ने ?’
सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म जिल्लामा सञ्चालित सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्न बाध्य भएको शर्माले बताउनुभयो । शान्ति सुरक्षाको प्रत्याभूति भएपछि एनजीओकर्मी कार्यक्षेत्र फर्कने शर्माको भनाइ छ । हेल्भेटास नेपाल, सेभ द चिल्डेन, कारितास अस्टलिया, यूएसएआईडी लगायत अन्तराष्ट्रिय गैरसरकारी संस्था र दर्जनभन्दा बढी स्थानीय संस्थाद्वारा सञ्चालित सबै कार्यक्रम स्थगित भएका छन् । ती संस्थामा कार्यरत ५ सयभन्दा बढी कर्मचारी खलंगामा केन्द्रित भएका हुन् ।
मृतक शाह अध्यक्ष रहेको संस्थामा मात्र १ सय २० बढी कर्मचारी कार्यरत थिए । गैरसरकारी संस्था महासंघ जाजरकोटले शाहका हत्यारालाई २ दिनभित्र पत्ता नलगाए प्रहरी प्रशासनविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । समाजसेवी शाहको हत्या कसले र किन र्गयो ? भन्ने अहिलेसम्म खुल्न नसकेको डीएसपी भावेश रिमालले बताउनुभयो । भेरी नगरपालिका ३, थाप्ले निवासी शाहको जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडकमा इभिनिङ वाकको क्रममा ७र८ जनाको समूहमा रहेका अपरिचित व्यक्तिले ढुंगाले हानेर हत्या गरेका थिए ।










