२८ मुलुकका सेना पाँचखालमा सैन्य अभ्यास गर्दै

काभ्रे ,पाँचखाल ,काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोमबारबाट बहुराष्ट्रिय सैन्य अभ्यास सुरु भएको छ । २१ चैतसम्म सञ्चालन हुने अभ्यासमा नेपाल, इन्डोनेसिया, किर्गिस्तान, मलेसिया, फिलिपिन्स, बंगलादेश, अमेरिकालगायत २८ देशका एक हजार २४ सैनिकको सहभागिता छ । अभ्यासमा विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धी तालिममा सहभागी मुलुकका बहुराष्ट्रिय सेनाको उपस्थिति छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सैन्य अभ्यासको उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघ युएनले अवलम्बन गर्ने शान्तिसम्बन्धी हरेक गतिविधिमा सधैँ नेपालको साथ रहिरहने बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विगतदेखि नै नेपालले शान्ति क्षेत्रमा योगदान पुर्याउँदै आएको बताए । उनले शान्ति र सुरक्षाको लागि राष्ट्रसंघले चालेको कदममा नेपालले जस्तोसुकै परिस्थितिमा पनि साथ दिन तयार रहेको उल्लेख गरे ।
प्रधानमन्त्रीले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुराष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरणसमेत गराए । शान्ति स्थापना कार्यमा नेपाली सेनाले लेवनान, युगान्डा, इथियोपिया, दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलुकमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरेको छ । ‘नेपाली सेना सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएपछि शान्ति स्थापना कार्यमा सक्रिय रहँदै आएको छ,’ उनले भने ।
नेपालको शान्ति स्थापनामा राष्ट्रसंघको योगदान महत्वपूर्ण
नेपालको शान्ति स्थापनामा राष्ट्रसंघले पुर्याएको योगदानको प्रशंसा गर्दै उनले युएन विश्वका सबै मुलुकको अभिभावक संस्था रहेको बताए । प्रधानमन्त्रीले राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै भविष्यमा आइपर्ने विभिन्न प्रकृतिका समस्या समाधानमा अघि बढ्ने बताए ।
सैन्य अभ्यास नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन
अमेरिकाका एसिया प्रशान्त क्षेत्र सैन्य कमान्डर एडमिरल ह्यारीले शान्ति स्थापना कार्यमा नेपाली सेना र अमेरिकी सेनाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले सैन्य अभ्यास नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन भएको जनाइन् ।
नेपाली सेनाले दिएको जानकारीअनुसार द्वन्द्वग्रस्त मुलुकमा खटिने सैनिकबीच सहकार्यलाई एकतामा सूत्रबद्ध गरी सीप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यस्तो अभ्यास पहिलोपटक आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ । नेपाली सेनाका अनुसार हालसम्म नेपाली सेनाले विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । यसअघि नेपाली सेनाले पहिलोपटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यसवेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । पाँचखालमा सेनाको बहुराष्ट्रिय तालिम केन्द्र रहेको छ ।








