जीवनमा पहिलो पटक लालपुर्जा पाउँदा मुक्त हलिया हर्षित

जाजरकोट, ८ चैत्र । साहुको हलिया बनेर हलो जोत्दै गर्दा फलामको फालो विझ्र एउटा खुट्टा गुमाएका जाजरकोट मजकोट ७ का मुक्त हलिया तुल्से कामीले पहिलो पटक जग्गाधनी प्रमाण पत्र पाउँदा निकै खुसी देखिए । समयमा उपचार नगर्दा खुटामा विझेको फलामका कारण क्यान्सर भएर खुट्टै काटेर फाल्न बाध्य उनले भने ‘मैले पहिलो पटक आफ्नै नाममा सम्पती पाएको छु । जग्गाधनी पुर्जा ९ लालपुर्जा ० पाउँदा म निकै खुसी छु । यो पुर्जाले मेरो विगतको सवै दुःख कष्ट विर्साईदिएको छ ।’ सँगै आएकी उनकी श्रीमति मन्दरी तिरुवाले पनि जग्गाधनी प्रमाण पत्र पाउँदा निकै खुसी भएको बताईन ।

सरकारले मुक्त हलियालाई पुर्नस्थापनाका लागी जग्गा खरीद , घर मर्मत र घरनिर्माणमा अनुदान दिदै आएको छ । उनीहरुको जोडीलाई मालपोत कार्यालय जाजरकोटका निमित्त प्रमुख अभिबहादुर गिरीले संयुक्त रुपमा जग्गाधनी प्रमाण पत्र हस्तान्तरण गर्दा खुसीले दुवै जना मसक्क मस्किए । जग्गाधनी प्रमाणपत्र श्रीमानश्रीमति दुवै जनाको स्वामित्व रहने गरी प्रदान गरिएको निमित्त मालपोत प्रमुख गिरीले बताए । सरकारले प्रदान गरेको दुई लाख रुपैयाबाट स्थानिय वीरबहादुर कार्कीको साढे चार रोपनी जग्गा तुल्सेले किनेका हुन् । कार्यालयले कार्कीको नाममा रहेको जग्गा तुल्से दम्पतीको नाममा नामसारी गरिदिएको हो । स्थानिय अमरसिह कार्कीको चार दशक देखी हलिया बस्दै आएका तुल्सेको नाममा न त घर छ न त जग्गा नै थियो । दश बर्ष अघि हलो जोत्दा जोत्दै फलाम विझेर घाईते भएका उनी सँग पैसा नहुँदा समयमा उपचार गर्न पाएनन् र अन्त्यमा खुट्टामा क्यान्सर भएर काटेर फाल्नु परयो । ‘मैलै ४० बर्ष साहुको हलो जोतेर विताए अहिले अपाङ्ग भएर बाँच्नु परेको छ’, बैशाखीको साहारामा सदरमुकाम आएका उनले भने ‘ढिलै भएपनि आफ्नो नाममा जग्गा पाएको छु । अव त्यही जग्गामा सरकारले घर बनाईदिए । मेरो सपना पुरा हुने थियो ।’ ५ छोरा र ४ छोरी गरी ९ सन्तानका बाबु ५५ बर्षिय तुल्सेले सरकारले हलियालाई मुक्तीको घोषणा गरेपनि पुर्नस्थापनाका लागी तदारुपता नदेखाउँदा जीवन निर्बाहमा समस्या परेको गुनासो गरे । उनीहरु अहिले घर नहुँदा छोरीको घरमा बस्ने गरेका छन् ।
सम्पतिको न घर न जग्गा । भुमिहिन कार्कीगाँउ ७ का कर्णबहादुर कामी र उनकी श्रीमति कौशिला कामीले मंगलवार मालपोत कार्यालयबाट संयुक्त जग्गाधनी प्रमाण पत्र पाउँदा निकै खुसी भएको बताए । ‘हामीले जीवनमा पहिलो पटक आफ्नै नाममा सम्पति पायौ निकै खुसी छौ जग्गाधनी पुर्जा बुझ्दै’ ति दम्पतिले भने ‘जग्गा पायौ हामी खुसी छौ सरकारलाई धन्यवाद छ अव हामी घर बनाईदिन माग गर्दछौ।’ स्थानिय जीतबहादुर बस्नेतको २५ बर्ष सम्म हलिया बसेको बताउँदै कर्णबहादुरले भने ‘सरकारले जीवन निर्वाहका लागी सीपमुलक थप कार्यक्रम दिन माग गरे ।’
सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखीको दासताबाट हलियाले मुक्ती पाएका थिए । सरकारले मुक्त हलियाको पुर्नस्थापनका लागी घर निर्माणमा ३ लाख २५ हजार , जग्गा खरीदमा २ लाख र घरमर्मतमा एक लाख २५ हजार रुपैया दिने गरेको छ । उनीहरुको अवस्थाका आधारमा क देखी घ बर्ग सम्म श्रेणी विभाजन गर्ने र आवश्यकताका आधारमा सहयोग गर्ने सरकारी निति रहेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । जाजरकोटमा ३ सय ६२ हलिया परिवार मध्य २ सय २ परिवारको प्रमाणिकरण भएको छ भने अन्य परिवारको प्रमाणिकरण हुन वाँकी रहेको निमित्त कार्यालय प्रमुख गिरीले बताए । कार्यालयका अनुसार हाल सम्म १ सय ८० परिवारलाई पुर्नस्थापनाका लागी अनुदान दिईएको उनले जानकारी दिए । चालु आर्थिक बर्षमा जग्गा खरीदका लागी जग्गा खरीदमा ३६ परिवार , घर मर्मतमा ३७ परिवार र घर निर्माणमा २० मुक्त हलिया परिवारलाई अनुदान दिईएको छ । चालु आर्थिक बर्षमा जाजरकोट लगायतका ६ जिल्लाका मुक्त हलियालाई पुर्नस्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।
दुर्घटनामा परेका हलियाका सपना अधुरै
२६ फागुनमा साल्मा ५ का मुक्त हलिया जिते कामीले पहिलो पटक जग्गाधनी प्रमाण पुर्जा पाउँदा निकै खुसी भएका थिए । आफुले पाएको जग्गाधनी पुर्जा घरपरिवार र गाँउलेलाई कति खेर देखाउने भन्ने हतारो थियो । सम्पतिको मालिक भएको खुसी गाँउमै गएर साट्न हतार थियो तर उनको खुसी केही घण्टा पनि टिक्न सकेन । त्यसै दिन २७ जनाको ज्यान जाने गरी जाजरकोटमा भएको बस दुर्घटनामा परि उनको ज्यान गयो । उनको खुसी साट्ने सपना अधुरै रह्यो उनी सँगै पुर्जा लिन आएका कार्कीगाँउ ३ का विर्खे कामीले भने ‘पुर्जा पाउँदा उनी निकै खुसी भएका थिए तर केही समयमा त्यस्तो अकल्पनिय घटना सुन्नु पर्यो ।’ उनी सँगै साल्मा ५ का मुक्त हलिया आइते कामी , मजकोट ७ का कालो तिरुवा , दले तिरुवा , लालसरी तिरुवा र कल्दरी चँदारा सहित बस दुर्घटनामा परि ६ जना हलियाको मृत्यु भएको छ । मृतक कालो तिरुवाकी श्रीमति तुले तिरुवा घाइते छन् । ‘श्रीमानले जग्गा पायौ अव घर पनि पाउँछौ । त्यसपछि हाम्रो आफ्नै घर हुन्छ । हामी पनि मालिक हुन्छौ भन्दै गाडीमा चढ्दा भन्नुभएको थियो तर दैवले लियो । उहाँको सपना पुरा हुन पाएन ।’ उनले दुखित हुदै भनिन ‘हामी अभागीलाई नै दैव लाग्नु पर्ने उक्त दुर्घटनामा परि ६ जना मुक्त हलियाको ज्यान गएको छ ।





error: Content is protected !!