आयो गाउँमै सदरमुकाम !


हेमन्त के सी
जाजरकोट – स्थानीय तह पुःर्नसंरचना कार्यान्वयनमा आएपछि जाजरकोटको नायकवाडा ९ (हाल वारेकोट गाउँपालिका ६ ) का मनिसा विक मख्ख हुनुहुन्छ । सदरमुकाम खलंगाबाट प्राप्त हुने सबै सरकारी सेवा सुविधा अव वारेकोट गाउँपालिकाकोे केन्द्र लिम्साबाटै प्रबाह हुने भएपछि विक हर्षित हुनुभएको हो । हरेक सरकारी कामकाजका लागि दुई दिनदेखि तीन दिन लगाएर सदरमुकाम खलंगा धाउनुपर्ने बाध्यता अन्त्या भएको विक बताउनुहुन्छ । खलंगाबाट हुने सबै काम अब हाम्रै वारेकोटको लिम्सा गाउँपालिकावाट हुन्छ, ‘विकले भन्नुभयो , ‘सदरमुकाम धाए जस्तो घण्टौं समय लागेन, खर्च पनि घट्यो ।’
मनिसाको भन्दा फरक बुझाई छैन स्थानीय नरवहादुर चलाउनेको पनि । धुमाबाट खलंगा पुग्न पैदल दुई दिन पैदल संगै गाडीमा ५ देखि ६ घण्टा लाग्छ । तर, वारेकोट गाउँपालिकाको केन्द्र लिम्सा पुग्न उहाँहरुलाई पैदल ३ घण्टा लाग्छ । खर्च र समयका हिसावले समेत गाउँपालिकाको कार्यान्वयन फाईदाजनक रहेको लिम्सा उच्च माविका प्रचार्य गोरखवहादुर सिहं बताउँनुभयो । ‘गाउँपालिकाबाट पाइने सेवाका बिषयमा सबैमा बुझाईको बिकास भएको छैन,’ प्रचार्य सिहं भन्नुभयो ‘तर, सदरमुकाम गाउँमा आयो, जिल्लाबाट हुने काम गाउँबाटै हुन्छ भन्नेमा सबैको एक मत रहेको पाईएको छ ।’
तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा संघीय संरचना कार्यान्वयनसँगै लिम्सा , मन्मै,सिवालय,छेडागाडमा कार्यालय स्थापना भई सुक्रवार देखि काम सुरु भएको छ । भर्खरै कार्यान्वयनमा आएको नयाँ नगरपालिका र गाउँपालिकाको काम, कर्तव्य र अधिकारको सबै बुँदाको विषयमा ज्ञान नभए पनि कम्तीमा ‘सदरमुकामबाट हुने काम गाउँबाट हुने’ अधिकांश सर्वसाधारणको बुझाई भइसकेको छ । २०१८ सालमा सदरमुकामका रुपमा स्थापना भएको खलंगा धाउँदै आएका स्थानीयले हाल गाउँमै सदरमुकाम आएको अर्थमा बुझेका छन् र, अरुलाई पनि बुझेका कुरा भन्न थालेका छन् । नगरपालिका र गाउँपालिकाको काम, कर्तव्य र अधिकारका विषयमा अझै पनि अन्यौल छ । तर, नागरिकता, राहदानी, जग्गा पास, कृषि, नापी लगायत सम्बन्धी काम लागि सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता अन्त्या भएको उनीहरुको बुझाई छ । नगरपालिकाको मापदण्ड अनुशारको बिकासको पुर्वाधार समानुपातिकरुपमा दुर्गम गाउँमा पुग्ने÷पुर्याउनका लागि पनि संघीय संरचना कार्यान्वयन महत्वपूर्ण रहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताउनुभयो ।
स्थानीय तहको कार्यान्वयनले सरकारी सेवामा सर्वसाधारणको सहज पहुँच मात्र स्थापित गरेको छैन, बिकास र संवृद्धिको ढोका पनि खुलेको छ । नागरिकले खलंगा धाएको ५१ वर्षपछि आफ्नै क्षेत्रमा सदरमुकाम आएको महसुस गरेको लिम्सामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत तmुाराम गिरीले बताउनुभयो ।
यसअघिको जिल्ला प्रशासन कार्यलयलाई भन्दा बढी अधिकार नयाँ संरचनाका गाउँपालिका र नगरपालिकालाई प्राप्त छ । स्थानीय तहलाई आफ्नै कानुनदेखि नागरिकता वितरणदेखि विद्यालय सञ्चालन सम्मका ६० भन्दा बढी अधिकार दिइएको छ । विकास, राजश्व संकलन, स्वास्थ्य, शिक्षा, उद्योग, तथ्याङ्क अद्यावधिक तथा संरक्षण, यातायात लगायतका क्षेत्रको काम गाउँपालिका÷नगरपालिका आफैले गर्न सक्ने व्यवस्था छ ।
प्राप्त अधिकार अनुशार नगरपालिका वा गाउँपालिकाको विकास गर्नका लागि उत्तिकै योग्य उम्मेदवारको आवश्यकता पर्ने अगुवा शाहले बताउनुभयो । ‘नगर वा गाउँपालिकालाई प्राप्त अधिकारलाई सही तरिकाले उपयोग गर्ने हो भने विकासको ढोकालाई क्रमशः खोल्दै अघि बढ्न सकिने वाताबरण बनेको छ शाहले वताउनुभयो ।










