ओठको सुरक्षा यसरी गरौँ

शारदा थापा क्षेत्री
ब्युटिसियन
सौम्य ब्युटिपार्लर, जमल
ओठको सौन्दर्य महत्वपूर्ण मानिन्छ । सबैको नजर सीधै पर्ने भएकाले पनि ओठ सुन्दर होस् भन्ने हरेकको चाहना हुन्छ । खासगरी, महिलाले ओठको सौन्दर्यमा बढी चासो राख्छन् । तर, विभिन्न गल्तीले ओठ सुक्ने, फुट्ने र कालो हुने समस्या देखिन्छ । यस्ता समस्याबाट टाढा रहँदै ओठको सौन्दर्य कायम गर्न के गर्ने त ? ब्युटिसियन शारदा थापा क्षेत्रीका टिप्सः
ओठलाई सुक्खा हुनबाट जोगाउनुहोस् । सुक्खा ओठ फुट्ने र कालो हुने हुन्छ । छालामा तैलीय ग्रन्थि हुन्छ, तर ओठमा हुँदैन । यसकारण पनि ओठ बारम्बार सुक्खा भइरहन्छ । ओठलाई चिल्लोपन प्रदान गर्नुपर्ने हुन्छ । ओठमा लिपबाम या लिपकेयर लगाइरहनुपर्ने हुन्छ ।
ल मरेका कोषिकाहरू नहटाउँदा पनि ओठ सुक्खा हुन्छ । त्यसैले वेला–वेलामा ओठलाई हल्का स्क्रब गर्नुपर्छ । स्क्रब गरेपछि मरेका कोषिकाहरू हट्छन् । यसपछि चिल्लो पदार्थ ओठमा लगाउन भुल्नु हुँदैन ।
ओठमा प्रयोग गर्ने लिपस्टिकलगायत सामग्रीमा केमिकलको मात्रा हुन्छ । केमिकलका कारण पनि ओठको सौन्दर्य गुम्ने गर्छ । यसकारण ओठको मेकअप गर्नुअघि केही चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ, ताकि केमिकलको असर सीधै ओठमा नपरोस् ।
रातभर ओठमा मेकअप रहन दिनु हँदैन । लामो समयसम्म लिपस्टिक रहेको ओठमा विभिन्न समस्या आउँछ । सुत्नुअघि ओठको सबै मेकअप हटाएर बदामको तेल लगाएर सुत्नु राम्रो हुन्छ ।
घामको किरणले अनुहारको छालामा जस्तै ओठमा पनि असर गर्न सक्छ । ओठ कालो हुने समस्या निम्त्याउँछ । त्यसैले घामको किरणको असरबाट ओठलाई जोगाउनुपर्छ ।
शरीरमा आवश्यक मात्रामा पानी नहुँदा पनि ओठमा चिल्लोपन कम हुन्छ । त्यसैले दिनभरमा आठ–दश गिलास पानी
अनिवार्य पिउनुपर्छ ।
हावा, धुलो र धुवाँ ओठको सौन्दर्य गुमाउने प्रमुख कारक हुन् । त्यसैले यस्ता असर न्यूनीकरण होस् भन्न घरबाहिर जाँदा लिपबाम-लिपकेयर लगाउने तथा मास्क प्रयोग गर्ने गर्नुपर्छ ।
ओठको सौन्दर्यका लागि घरमै प्याक बनाएर पनि लगाउन सकिन्छ । एक चम्चा महमा थोरै ब्राउनसुगर र आधा टुक्रा कागतीको रस मिलाएर बनाएको पेस्ट लगाएर केही बेर मसाज गरेपछि मनतातो पानीले पखाल्दा ओठ सफा, चिल्लो र सुन्दर हुन्छ ।
ओठमा नियमित बदामको तेल हल्का लगाउनाले पनि नरम र मुलायम बनाउँछ । बदामको तेलले ओठलाई हल्का गुलाबी बनाउन पनि भूमिका खेल्छ ।



