स्थानीय तहमा लाग्ने ताला तोड्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन हुन नदिन लाग्न सक्ने ताला सरकारले तोडिने बताएका छन्। दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति मुलुकभर उत्साह पैदा भएको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले लाग्न सक्ने ताला तोडेर निर्वाचन गरिने दावी गरेका हुन्।
‘स्ववियू निर्वाचन रोक्न धेरैले खोजेका थिए । मैले कुनै पनि हालतमा रोक्नु हुँदैन भनेर अडान लिदा लिँदै पनि कतिपय ठाउँमा ताला लागे,स्थानीय तहको निर्वाचन रोक्न पनि कतै कतै तालावन्दी हुन सक्छ तर स्ववियू निर्वाचन जति नहुन सक्छ। २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति मुलुकभर उत्साह पैदा भएको छ,केही ठाउँमा तालावन्दी भएछ भनेपनि तोडिन्छ’ अनेरास्ववियू क्रान्तिकारीको बिहीबार भक्तपुरमा आयोजित पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।
अब हुने निर्वाचनमा माओवादी केन्द्र एक नम्बर पार्टी हुनु पर्नेमा जोड दिदै प्रधानमन्त्री प्रचण्डले भने ‘माओवादी एक नम्बरको पार्टी नभईकन राष्ट्रको एकता बच्ने छैन,परिवर्तनका एजेण्डा पनि बच्ने छैन। माओवादीकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ ।’ स्थानीय तहको निर्वाचनपछि आमुल परिवर्तनलाई गुणात्मक रुपमा गाउँमा पुरयाउने वातावरण बन्ने दावी प्रधानमन्त्री प्रचण्डले गरे । ‘निर्वाचनपछि गणतन्त्रको उज्यालो जनताको घरदैलोमा पुग्ने अवस्था छ’ प्रधानमन्त्री प्रचण्डले भने । गाली गलोज सहेर पनि जनतालाइ परिवर्तनको अनुभुति हुने गरी सरकार अगाडि बढेको पनि उनले बताए ।
‘अव स्थानीय निर्वाचनमा होमिने हो । तपाईहरु पनि स्थानीय तहको निर्वाचनको अभियानमा लाग्नु होला’प्रधानमन्त्री दाहालले बिद्यार्थी नेताहरुलाई भने । तालमेल र व्यवस्थापकीय कमजोरी सच्याएर अगाडि बढेमा स्थानीय तहको निर्वाचनको परिणाम पनि उत्साहजनक आउने दावी पनि प्रधानमन्त्री प्रचण्डले गरे ।
आफनो पार्टीका निराशा बाँडदै हिडने नेताहरु प्रति धेरै आशा र अपेक्षा नराख्न प्रधानमन्त्री प्रचण्डले बिद्यार्थी नेताहरुलाई आग्रह गरे । ‘पार्टीका नेताहरुबाट धेरै आशा अपेक्षा नगर्नु होला । हामी पार्टीका नेताहरु धेरै विग्रिएका छौ । बुढेसकाल लागेपनि म तपाईहरु जत्तिकै बल गरिरहेकै छु । तर धेरै जसो नेताहरु थाकेका छन् । तिनिहरुमा जोस,जाँगर र केही गरौ भन्ने उत्साह त्यति धेरै छैन । अव तपाईहरुले जिम्मेवारी लिएर नयाँ पिढीमा नेतृत्व लिने गरी अगाडि बढनुपर्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।
स्ववियू निर्वाचनपछिको अवस्थाका बारेमा समीक्षा गर्न आयोजित बैठकमा प्रधानमन्त्री प्रचण्डले स्ववियू निर्वाचनबाट आफू उत्साहित भएको बताए । ‘माओवादीका गतिबिधि शुन्य भएको सुनाउने काँग्रेस र एमालेका नेताहरुले स्ववियू निर्वाचनपछि माओवादीले चमत्कार गरेको सुनाइरहेका छन् । बाबुराम,बैद्य र बिप्लवहरु हराउन लाग्दा लाग्दै पनि स्ववियू निर्वाचनमा जुन परिणाम आएको छ,त्यो उत्साहजनक छ’ प्रधानमन्त्री प्रचण्डले भने ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष गोपाल कृष्ण न्यौपानेका अनुसार बैठकमा स्ववियू निर्वाचनको समीक्षा र भावी रणनीतिका बारेमा छलफल गरिएको छ । ‘हामी आगामी कार्यक्रम तय गर्ने गरी छलफल गरिरहेका छौ,’न्यौपानेले अन्नपूर्णसँग भने । न्यौपानेका अनुसार राष्ट्रिय सम्मेलन,शैक्षिक ऐजेण्डा,सेमेष्टर प्रणाली,शुल्क मापदण्ड र शिक्षा नियमावली लगायतका एजेण्डा माथि छलफल भइरहेको छ ।










