सप्तरी घटनामा कहाँ चुक्यो प्रहरी

जनकराज सापकोटा
, काठमाडौं ,सप्तरी सदरमुकाम राजविराजमा सोमबार पनि त्यही नियति दोहोरियो, जस्तो यसअघिका मधेस आन्दोलनमा देखिने गथ्र्यो । प्रहरीको गोली लागी ३ आन्दोलनकारीको घटनास्थलमै मृत्यु भयो, ७ गम्भीर घाइते भए । प्रत्यक्षदर्शीका अनुसार तीनै आन्दोलनकारीको टाउकोमा गोली लागेको छ, घाइते अधिकांशको पनि घुँडामाथिको भागमा गोली लागेको छ । जबकि भीड नियन्त्रणका क्रममा प्रहरीले अन्तिम अवस्थामा मात्रै घुँडामुनि गोली हान्न सक्ने कानुनी अधिकार हुन्छ ।

स्थानीय प्रशासन ऐन २०२८ मा जिल्ला प्रशासनले कस्तो अवस्थामा गोली चलाउन प्रहरीलाई आदेश दिन सक्छ भनेर उल्लेख गरिएको छ । ऐनमा भनिएको छ, शान्ति कायम गर्न नसकिने देखिए र गोली चलाउनुपर्ने आवश्यकता परे सो गर्नुभन्दा अगाडि भीडलाई हटदैनौं भने गोली चलाइनेछ भनी स्पष्टसँग सो भीडले बुझ्ने गरी चेतावनी दिने र त्यति गर्दा पनि भीड हटेन र गोली नै चलाउनुपर्ने भयो भने घुँडामुनि पारी गोली चलाउन आदेश लेखी सही गरिदिने उल्लेख छ ।

सोमबारको घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको खबर सार्वजनिक भए पनि प्रहरी प्रधान कार्यालयमा रहेको सुरक्षा कमान्ड सेन्टरले भने फरक निष्कर्ष निकालेको छ । स्रोतका अनुसार सोमबार ३ बजेसम्म पनि प्रहरीले त्यस्तो घटना हुने कुनै आकलनसम्म पनि गरेको थिएन । नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालयका प्रतिनिधि सम्मिलित सुरक्षा कमान्ड सेन्टरको बैठकले गम्भीर घटना हुनबाट रोक्न बल प्रयोग भएको भन्ने निष्कर्ष निकालेको थियो ।

तर गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरी घटनामा प्रहरीले टाउकोमै गोली किन हान्यो भन्ने विषयमा छानबिन नभई भन्न नसकिने बताए । पन्थीले फिल्डमा खटिँदा प्रहरीको सुरक्षात्मक कारबाहीमा आन्दोलनकारीको ज्यान गएको बताए । ‘छानबिनपछि मात्रै सुधार गर्न सकिन्छ,’ उनले भने । सशस्त्र प्रहरी र नेपाल प्रहरीमध्ये कसले गोली हान्यो भन्ने विषयमा अस्पष्ट धारणा आइरहेका छन् । प्रवक्ता कार्कीले कसले गोली हान्यो भन्ने कुरा महत्त्वपूर्ण नभएको बताउँदै भने, ‘घुँडामुनि गोली प्रहार भएको भए व्यक्तिको क्षति कम हुने थियो । तर यस्तो कि भयो छानबिनबाट पत्ता लाग्छ ।’

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासनले घुँडामुनि गोली हान्न आदेश दिएको गृह मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । तर प्रशासनको आदेशविपरीत टाउकोमै गोली किन हानियो भन्ने गम्भीर प्रश्न खडा भएको छ । यसले आसन्न स्थानीय तहको निर्वाचनलाई संशयमा त धकेलेको छ नै, केन्द्र र मधेसबीचको दूरीसमेत बढाइदिएको छ ।

गृह मन्त्रालयको सुरक्षा महाशाखाका प्रमुखसमेत रहेको पन्थीसहितको सुरक्षा समितिको बैठक पनि मंगलबारै बसेको थियो । बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीका अनुसार सम्भावित ठूलो घटना रोक्न प्रहरी गोली चलाउनुपर्ने अवस्थामा पुगेको निष्कर्ष नजिक बैठक पुगेको थियो । बैठकमा टीकापुर घटनामा जस्तै प्रहरीले समयमै निर्णय गर्न नसकेकाले भयावह परिस्थिति हुनबाट रोक्न गोली प्रहार गरेको निष्कर्ष निस्केको थियो । उक्त बैठकमा सशस्त्र प्रहरीले गोली एसएलआरबाट गोली चलाएको ठूलो क्षति भएको विषयमा पनि कुराकानी भएको थियो ।

घटना कसरी भयो र टाउकोमै गोली किन ताकियो भन्नेबारे बुझ्न सशस्त्र प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । ‘हल्ला त अनेक आउँछन् तर छानबिन समितिको रिपोर्ट नआएसम्म केही भन्न सकिन्न,’ सशस्त्र प्रहरीका प्रवक्ता दिवाकर केसीले भने । पूर्वडीआईजी हेमन्त मल्ल बारम्बार यस्तै प्रकृतिको घटना दोहोरिनुका पछाडि हतियार चलाउनेसम्बन्धी प्रहरीले लिने तालिममै खोट रहेको आशंका व्यक्त गर्छन् । उनले हतियार कसरी व्यवस्थापन गर्ने र त्यसलाई कसरी कस्तो बेला चलाउने भन्नेबारे प्रहरीले नियमित तालिम नै पाएका छैनन् । उनले भने, ‘त्यसैको कारण पनि यस्ता घटना बारम्बार दोहरिन्छन् ।’ थ्रीनट थ्री राइफल चलाएर सुरु हुने प्रहरीको तालिमपछि सेवा अवधिभरमा नियमित हतियार चलाउने तालिम दिइँदैन । मल्लका अनुसार प्रहरीले नियमित रूपमा पर्याप्त हतियार चलाउने तालिम नपाउँदा मिस फायर हुने वा अनावश्यक मानवीय क्षति हुने सम्भावना रहन्छ ।

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न कुनै समितिसमेत गठन गरेको छैन । बरु प्रेस विज्ञप्तिमार्फत गृह प्रवक्ता पन्थीले ‘परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बाध्य भई गोली चलाएको’ बताएका छन् । सुरक्षाकर्मीले किन बाध्य भएर टाउकोमा नै गोली ताक्नुपर्ने अवस्था किन आयो भन्नेबारे विज्ञप्ति मौन छ । मन्त्रिपरिषदको मंगलबार बस्ने भनिएको बैठकमा सप्तरी घटनाबारे केही निर्णय हुने अपेक्षा गरिएको थियो । तर अन्तिम समयमा आएर मन्त्रिपरिषदको विशेष कारणबस भन्दै बैठक सरेपछि त्यसबारेको अनिश्चित थप पछाडि धकेलियो ।

नेतृत्वको खाँचो
नयाँ आईजीपीको नियुक्ति मिति टुंगो लागिनसकेको र निमित्त आईजीपी रहेको अवस्थामा भएको पछिल्लो घटनाले नेपाल प्रहरीको नेतृत्वले घटनाको गम्भीरतालाई कसरी लिन्छ भन्ने प्रश्न खडा भएको छ । प्राविधिकतर्फका निमित्त आईजीपी डा। दिनेशचन्द्र पोख्रेलका निम्ति अनुभवका हिसाबले पनि यो पक्कै सजिलो विषय होइन ।

नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘प्राविधिकतर्फको अनुभव नै निमित्त आईजीपीको सीमा हो । उनको अनुभवबाट यस्तो गम्भीर अवस्थामा प्रभावकारी भूमिका अपेक्षा गर्न त्यति सजिलो छैन ।’ ती अधिकारीले निमित्त आईजीपी दीर्घकालीन निर्णय लिन कानुनी रूपमै नसक्ने र उनी मातहतको टिम उति सहयोगी हुन नसक्ने आशंका गर्छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी कुवेरसिंह रानाका अनुसार व्यावसायिक संगठनको इतिहासमा यो नौलो घडी हो । उनले भने, ‘यस्तो संक्रमणकालीन अवस्था लामो समयसम्म रहनु राम्रो होइन । यसको असर कुनै न कुनै रूपमा परिरहन्छ ।’ पूर्वडीआईजी मल्ल यस्तो गम्भीर अवस्थामा नेपाल प्रहरीमा नियमित नेतृत्व हस्तान्तरण नहुँदा समस्या हुने बताउँछन् । उनले भने, ‘निमित्तकै भरमा लामो समयसम्म प्रहरी संगठनलाई राखिराख्नु राम्रो कुरा होइन ।’

प्रजिअसहित सुरक्षा प्रमुख फिर्ता
गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्रालय फिर्ता बोलाएको छ । सोमबार दिउँसो सप्तरीमा प्रहरीको गोली लागी तीन जनाको मृत्यु भएको घटनापछि मन्त्रालयले यस्तो निर्णय लिएको हो ।

मंगलबार दिउँसो मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिवस लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खडका र नेपाल प्रहरीका डीएसपी दानबहादुर कार्कीलाई फिर्ता बोलाउने निर्णय लिएको हो । गृह मन्त्रालयले सप्तरीमा सहसचिव कृष्णबहादुर कटवाललाई प्रजिअको जिम्मेवारी दिएर पठाएको छ ।

तीनवटै सुरक्षा निकायका प्रमुखलाई प्रहरी मुख्यालय नक्साल डाकेर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सप्तरी घटनाबारे जानकारी लिएका छन् । उक्त बैठकमा गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अवस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । करिब डेढ घण्टा चलेको छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा। पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी, नेपाल प्रहरीको कार्यविभाग प्रमुखसहित गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीलगायतको उपस्थिति थियो ।

गृहमन्त्रीद्वारा दुस्ख व्यक्त
सप्तरीमा सोमबार गोली प्रहारबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानबिनको माग गर्दै प्रदेश नम्बर २ का सांसदहरूले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेका छन् । भेटमा सांसदहरूले हत्याको घटनाबारे दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
भेटमा उपप्रधान एवं गृहमन्त्री निधिले घटनाप्रति दुस्ख व्यक्त गर्दै भने, ‘स्थिति सहज अवस्थामा फर्काउन सबैको सहयोग आवश्यक छ ।’ सांसदहरूले एमाले नेताहरूको मधेसी विराधी उत्तेजक अभिव्यक्तिका कारण जनता आन्दोलित भएको बताए । उनीहरूले मृतकका परिवारलाई सहिदसरह क्षतिपूर्ति र घाइतेको निस्शुल्क उपचारको व्यवस्था हुनुपर्ने माग पनि गरे ।





error: Content is protected !!