आगोले पोलेको बस्तीमा माओवादीको मल्हम


कविता शाही
सुर्खेत । केही समय अगाडि पश्चिम सुर्खेतको तरंगा गाविसमा पर्ने भट्टेघारीको बस्तीमा आगो लाग्यो । दिनहुजसो बस्तीमा एकाएक आश्चर्य हुनेगरी आगो लागेर बस्तीमा तहसनहस भयो ।
एकाएक बस्तीका घरहरुमा आगलागि हुँदा धनमाल भएको सम्पत्ती सखाप भयो । आगो कसरी लाग्यो भन्ने कुरा रहस्यमयी नै भयो । दिउसै एक्कासी आगलागि हुँदा कुनै पत्तो भएन । उनीहरु आगलागी कै कारण पीडित भए ।
आगलागि भइसकेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको नेतृत्वमा अवलोकन पनि गरियो । के कसरी भएको भन्दै सम्बन्धि स्थानमा पुगे पनि कुनै पहिचान हुन सकेन । सम्पूर्ण घर सामान सहित गुमाएपछि त्यहाँ स्थानीय बासिन्दाहरुलाई साँझ विहान भोक टार्न समस्या भएको छ ।
आगलागी कै कारण पीडित भएका उनीहरुका लागि सुर्खेतका ब्यापारीहरुले शनिबार राहत वितरण गरेका छन् । नेकपा माओवादी केन्द्र बराह गाउँपालिकाको पहलमा वीरेन्द्रनगरबाट त्यहाँ पुगेको नेपाल राष्ट्रिय उद्योग व्यापार सङगठन सुर्खेतले अग्नी पीडितहरुलाई राहात वितरण गरेको हो ।
केही दिनका लागि भएपनि आगलागि पीडितहरुको समसया टर्ला भन्ने उद्देश्यका साथ नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमा आवद्ध ब्यापारीहरुले राहात संकलन गरी वितरण गरेको संगठनका केन्द्रीय उपाध्यक्ष मदन खडकाले बताए । ‘‘एकाएक आएको समस्याले यस्तो पीडा भएको रैछ,’ उनले भने–‘आगोले रित्याएको यो बस्तीलाई केही भएपछि मलम लगाउने प्रयास हामीले गरेका छौं ।’’
उद्योग ब्यापार संगठनले बस्तीका १३ घरपरिवारलाई राहत वितरणगरेको हो । प्रति घरपरिवारलाई दुई बोरा चामल, दाल, तेल लगायतका दरले खाद्य सामग्री वितरण गरिएको हो ।
समस्यामा परेका बेला आफूहरुलाई सहयोग गरेको भन्दै स्थानीयले ब्यापार संगठनहरुलाई धन्यवाद दिएका थिए । उनीहरुले यो सहयोगले आफूहरुको पीडामा मलम लागेको भन्दै यस्तै सहयोग जुटाइदिनका लागि आग्रह समेत गरेका थिए । साथै दिनमै पटकपटक आगलागि हुनुको कारण पत्ता नलाग्दा घटना रहस्यमयी भएको भन्दै उनीहरुले आश्चर्य भएको बताएका थिए ।
पहिरोका कारण ९ वर्षअघि तरंगा ६ सिम्लेपानीबाट विस्थापित भएर आएका भट्टेघारी वासी आगलागीबाट घर जलेपछि विस्थापित भएका छन् ।
राहत वितरण कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय उपाध्क्ष तथा प्रदेश नं ६ का अध्यक्ष मदनबहादुर खडका, माओवादी केन्द्र सुर्खेतका पार्टि सल्लाहकार समितिका सचिव मनिराम अधिकारी, माओवादी केन्द्र बराह गाउँपालीकाका अध्यक्ष बलबहादुर कठायत,व्यापार संगठन सुर्खेतका महासचिव ओमप्रसाद पौडेल, पार्टीका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्यहरु कर्ण अधिकारी, बिर्ख बडुवाल, डम्मर सुनार, बिृष बहादुर सिजापती, रत्नलाल सुवेदी लगायत बराह गाउँपालिकाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रर्देश पोष्ट ।










