हेलिकप्टर चढेर प्रधानमन्त्री पार्टीको कार्यक्रममा आयोगसँग अनुमति लिएमा हेलिकप्टर प्रयोग गर्न मिल्छ , प्रवक्ता शर्मा

नगेन्द्र अधिकारी
काभ्रे । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले काभ्रेमा आयोजना गरेको कार्यक्रममा जाँदा हेलिकप्टर प्रयोग गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला कमिटीले च्यासिंखर्कको कामीडाँडामा आयोजना गरेको सहिद सप्ताहमा उनी नेपाली सेनाको हेलिकप्टर चढेर पुगेका हुन् । काठमाडौंबाट कार्यक्रमस्थलको दूरी ६० किलोमिटर रहेको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा, बागमती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुष्प रञ्जित, जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापा सरकारी गाडी चढेर उनको स्वागत र सुरक्षाको लागि पुगेका थिए । प्रहरीले जिल्ला विकास समितिको सरकारी नम्बर प्लेटको गाडी प्रयोग गरेको हो ।
निर्वाचन आयोगले बुधबारदेखि जारी गरेको निर्वाचन आचारसंहिताअनुसार हेलिकप्टर प्रयोगमा निषेध गरिएको छ । आचारसंहिताले नेपाल सरकार र सरकारका मन्त्री, सार्वजनिक संस्थाका प्रमुख र कर्मचारी, राजनीतिक दल र तिनका भातृ संगठन, सेना, प्रहरी लगायतका सुरक्षा निकाय र सार्वजनिक पद धारणा गरेका व्यक्ति समेतलाई समेट्छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयोगसँग अनुमति लिएर प्रधानमन्त्री वा मन्त्रीले हेलिकप्टर प्रयोग गर्न पाउने बताए । ‘निर्वाचन आचारसंहिता सबैलाई लाग्छ, कामको महत्व र आवश्यकता हेरेर आयोगले अनुमति दिएमा प्रधानमन्त्री, मन्त्रीले हेलिकप्टर प्रयोग गर्न पाउनुहुन्छ’ प्रवक्ता शर्माले इकान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीले काभ्रे जानेबारे जानकारी गराउनुभएको छ ।’
माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिनानाथ गौतमले प्रधानमन्त्रीलाई आचारसंहिता नलाग्ने दाबी गरे । ‘प्रधानमन्त्रीलाई आचारसंहिता कहाँ लाग्छ, लाग्दैन,’ उनले भने, ‘लाग्ने भए आउँदैनथें होला, पाउने भएरै आएको हो ।’
शान्ति प्रकृयामा आएसँगै केन्द्रीय समितिको बैठकको लागि २०६३ भदौमा दाहाल कामीडाँडा आएका थिए । युद्धकालमा कामीडाँडा चर्चित थियो । कयन केन्द्रीय नेताको आश्रयस्थल रहेको उक्त स्थानमा जनमुक्ति सेनाको क्याम्प पनि थियो । लडाकू समायोजनका क्रममा तेस्रो डिभिजन राख्ने चर्चा भए पनि पूर्वाधारका कारण हुन सकेको थिएन । युद्धभूमि कामीडाँडालाई स्थानीयले चिया बगानको रुपमा विकास गर्दै लगेका छन् ।
कान्तिपुर वाट ।










