राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भगवति माविलाई

जाजरकोट । जाजरकोटमा संचालन भएको अन्तर माध्यमिक विद्यालय स्तरीय नबौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भगवति माध्यमिक विद्यालय कुदुले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा १२ फागुन देखी भेरीमालिका नगरपालिका १३ कुदु स्थित भगवति माविमा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा घरेलु मैदानको फाईदा उठाउँदै सो माविले उपाधी उचालेको हो ।
छात्र, छात्रा दुवै तर्फ कराँते, तेक्वान्डो, भलिवल, कपर्दी, एथेलेष्टिक ९ फिल्ड र ट्रयाक तर्फ गरी पाँच इभेन्टमा खेलाईएको प्रतियोगितामा २ सय २९ अंकका साथ भगवति मावि प्रथम भएको हो । विजय मावि काफलचौर २ सय २७ अंक सहित द्धितिय र त्रिभुवन मावि खलंगाले १ सय ८१ अंकका साथ तृतिय स्थान हासिल गरेका छन् ।
निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई नगद क्रमश १५ हजार, १२ हजार र ९ हजार नगद सहित शिल्ड प्रदान गरेका छन् । विजयी खेलाडीलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिए ।
जिल्लाका १८ ओटा विद्यालयले भाग लिएको उक्त प्रतियोगिता छात्र भलिवलमा त्रिभुवन मावि प्रथम र छात्रा भलिवलमा विजय मावि प्रथम भएको थियो । छात्र कपर्दीमा त्रिभुवन मावि प्रथम र छात्रा कपर्दीमा भगवति मावि प्रथम भएको अध्यक्ष बस्नेतले बताए ।










