अवैध जडीबुटीसहित व्यापारी पक्राउ

जाजरकोट । अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको २ हजार किलो जडीबुटीसहित प्रहरीले ३ व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला वन कार्यालयको छुटपुर्जीबिना चोरी निकासी हुन लागेको ४ टयाक्टर जडीबुटीसहित हुम्ला, साँया १ का जगत फडेरा, रोडिकोट ४ का मंगल बुढा र ८ का सन्तोष खत्री पक्राउ परेका हुन् । रग्दा र भगवती गाविसका विभिन्न वन क्षेत्रमा संकलन गरेको २ हजार किलो तेजपात र २ सय किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो ।

प्रहरीले उक्त जडीबुटी इलाका वन कार्यालय दल्लीलाई बुझाएको सहायक वन अधिकृत नेपाली साहले बताए । लु२त ७२२, भे१त ७८७९, रा१त २५५३ र भे१त ७२५७ नम्बरको टयाक्टरद्वारा अवैध रूपमा जाजरकोटदेखि नेपालगन्जतर्फ उक्त जडीबुटी लैजान खोजिएको साहले बताए । ‘पक्राउ परेका व्यापारीसँग जडीबुटी निकासीसम्बन्धी कुनै पनि कागजात छैन,’ उनले भने ।
जिल्ला वनको छुटपुर्जीबिना नै चोरी निकासी गरेर जडीबुटी जिल्ला बाहिर लैजान लागिएको थियो । जिल्ला वनले फरेस्टर पूर्णबहादुर चन्दलाई आवश्यक अनुसन्धानका लागि त्यसतर्फ खटाएको छ । पक्राउ परेका व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । आवश्यक अनुसन्धानपछि वन ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला वनले जनायो ।
जाजरकोटका विभिन्न नाकाबाट पटक–पटक जडीबुटी चोरी निकासी हुने गरेको छ । चाखुरे, कुसे पाटन, सुयाँडा, जुर्क निपाने, कचाली, राडीजिउला, त्रिवेणीलगायत क्षेत्रबाट जडीबुटी चोरी निकासी हुने गरेको हो ।
स्रोत साधन तथा जनशक्ति अभावमा जडीबुटी चोरी निकासी नियन्त्रण गर्न नसकेको जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए । चोरी निकासी हुने नाकामा पुग्न ३र४ दिन समय लाग्ने र नजिकमा रेन्ज पोस्ट पनि नहुँदा थप समस्या भएको उनको भनाइ छ ।





error: Content is protected !!