डडेल्धुरामा शेरबहादुर देउवाकै काका माओवादी केन्द्रमा प्रवेश

 डडेल्धुरा ,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लामा माओवादी केन्द्रले आक्रामक रुपमा संगठन विस्तार अभियान शुरु गरेको छ । संविधानसभाको पहिलो निर्वाचनमा झिनो मतका कारण पराजित माओवादी यसपटक भने सबै गाँउपालिका, वडा र नगरपालिकामा संगठन विस्तारमा जुटेको हो ।

पार्टी फूटले कार्यकर्ता र जनतामा निराशा छाएको थियो, अहिले आक्रामक ढंगले अघि बढेका छौं ।” माओवादी केन्द्रका जिल्ला इन्चार्ज नन्द सार्कीले भने, “जनतामाझ फेरी जोडिँदा बेग्लै उत्साह देखिएको छ ।” स्थानीय तह पुनर्संरचना अन्तर्गत डडेल्धुरामा दुईवटा नगरपालिका र ५ वटा गाउँपालिकाको माग गरिए अनुरुपको व्यवस्था भएपछि सबै तहमा संगठन विस्तारमा माओवादी केन्द्र लागेको उनले बताए ।

संगठन बिस्तारका क्रममा पुराना कार्यकर्ताहरुको नवीकरण र नव प्रवेशीहरुलाई सदस्यता आवेदन माग गर्ने क्रम चलिरहेको उनले बताए । “चैतमा जिल्ला सम्मेलन गर्ने भनेका छौं, अहिले धेरै जसो वडामा कमिटि निर्माण गरेका छौं, केही बाँकी छन, छिट्टै सक्छौं ।” उनले भने । डडेल्धुरामा अत्यन्तै प्रभाव राख्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह गाउँमा समेत माओवादी केन्द्रले बलियो उपस्थिति बनाएको छ ।

असिग्राममा भएको कार्यक्रममा नेपाली कांग्रेसबाट दर्जनौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् । देउवाका काका तथा यसअघि उक्त क्षेत्रका क्षेत्रपाल भीम बहादुर देउवा, बिक्रम देउवालगायत दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेको सार्कीले बताए ।

हालसम्म १५ सय बढी कार्यकर्ताले नवीकरण गरेको र १ हजार भन्दा बढीले नयाँ सदस्यताका लागि आवेदन दिएको सार्कीले बताए । “एमाले र कांग्रेसबाट प्रवेश गर्ने लहर बढेको छ । माओवादी जनताबाट टाढा नजाओस् भन्ने खोजेका छन् सबैले” उनले भने ।

माओवादी केन्द्रले जिल्लाका अजयमेर गाउँपालिकामा ४५ सदस्यीय समिति निर्माण गरेको छ । यसैगरी भागेश्वरमा ३७ सदस्यीय समिति गठन भएको छ । हिजोका गाउँ विकास समितिलाई वडाका रुपमा लिँदै केन्द्रले गणेशपुर, असीग्राम ९देउवाको गृह गाउँ०, मष्टमाण्डौं, कैलपाल, भागेश्वरलगायतका गाउँपालिकामा सम्मेलन सम्पन्न गरिसकेको छ ।

१ नगर र ४ गाउँपालिकामा जित्ने दावी

“यही स्पिरिटमा गए हामी एउटा नगरपालिका र ४ वटा गाउँपालिकामा जित्छौं” सार्कीले भने, “बगरकोट, नवदुर्गा, भागेश्वर गणापधुरा गाउँपालिका र पर्शुराम नगरपालिकामा हाम्रो जीत सुनिश्चित छ ।”

विगतमा पार्टी टुटफुट हुँदा जनता र कार्यकर्तामा निराशा छाएपनि केन्द्रमा पार्टी एकता र चुनावको माहौल बन्दै जाँदा संगठनप्रति आशा र आकर्षण पलाएको उनले बताए ।

“इमान्दार कार्यकर्ता सबै हामीसँगै छन्, नेतृत्वले कार्यकर्ता र जनतालाई छोड्नु भएन, जनतालाई समेट्ने कार्यक्रम ल्याउनुपरयो । सरकारका तर्फबाट समेत आम जनताका, जिल्लाका विकासका कामहरुमा ध्यान दिनुपरयो भन्ने आम जनमत छ ।” उनले बताए ।

यतिखेर डडेल्धुरामा संगठन निर्माण गर्न केन्द्रीय देखि स्थानीय नेताहरु जुटिरहेका छन् । माओवादी केन्द्रका नेता खगराज भट्ट, मञ्जु भट्ट, उमेश भट्टलगायत क्षेत्रमा खटिरहेका छन् ।

खबरडबलीबाट





error: Content is protected !!