चुनाव कसैले रोक्न सक्दैन प्रधानमन्त्री

काठमाण्डौ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब कसैले निर्वाचन रोक्न नसक्ने बताएका छन् । आवश्यक प्रक्रिया पुर्याएर चाँडै स्थानीय तहको निर्वाचन मिति घोषणा गरिने प्रधानमन्त्रीको भनाइ छ । पाँचथरको भारपा र याङनाम गाविसको सीमाबाट बग्ने हेवा खोलामा निर्मित हेवा खोला ए जलविद्युत् आयोजनाको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रमुख तीन राजनीतिक दलबीच मंगलबार र बुधबार निर्वाचनको मिति घोषणाबारे सकारात्मक छलफल भएको भन्दै प्रधानमन्त्रीले निर्वाचन सुनिश्चित भइसकेको बताए । ‘मधेसी मोर्चालाई पनि अब निर्वाचन रोकेर रोकिँदैन भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर ८ माघभित्र तीनवटै तहको निर्वाचनमा जानुको विकल्प छैन ।’
निर्वाचनमा ढिलाइ गर्ने छुट छैन
प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा जान ढिलाइ गर्नु नहुने भन्दै निर्वाचन हुन नदिने प्रयत्न पनि भइरहेको दाबी गरे । मुलुकको भौगोलिक अखण्डता र परिवर्तन उल्टाउन पश्चगामी शक्तिहरू सक्रिय बनेको बताउँदै उनले सरकार मुलुकको अखण्डताको रक्षार्थ कठोर बनेको बताए । ‘केही पश्चगामी, निरंकुशताका प्रतिनिधिहरू सरकारको लचकताको फाइदा उठाउन खोज्दै छन्,’ प्रधामन्त्री प्रचण्डले भने, ‘परिवर्तनबाट पछि नहट्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ ।’
निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन
जलविद्युत् आयोजनाको उद्घाटनपछि पाँचथरको फिदिममा माओवादी केन्द्र पाँचथरद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनको तयारी गर्न पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई निर्देशन दिए ।
उद्घाटन कार्यक्रमलाई ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, पूर्वसभामुख एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगू, सांसद्द्वय भीष्मराज आङ्देम्बे र गणेशकुमार काम्बाङलेसमेत सम्बोधन गरेका थिए । १४।९ मेगावाट क्षमताको हेवा ए आयोजनाले गत २२ मंसिरबाट उत्पादन थाले पनि बुधबार मात्रै औपचारिक उद्घाटन गरिएको हो ।
पाँचथरवासीलाई विकास प्याकेज
प्रधानमन्त्री प्रचण्डले तमोर जलाशययुक्त आयोजना निर्माणको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । सो आयोजना निर्माण गर्न सके पूर्वी नेपालवासीको जीवन फेरिने भन्दै प्रधानमन्त्रीले कम्पनी निर्माण गरी आयोजना अघि बढाइने बताए ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण कार्य द्रुत बनाउन सरकारले पहल गरिरहेको पनि उनले जानकारी दिए । प्रधानमन्त्रीले पूर्वी पहाडको विकास गर्न भौतिक पूर्वाधार पहिलो आवश्यकता भएको भन्दै उनले महागुरु फाल्गुनन्दको तपोभूमि तथा समाधिस्थल पाँचथरको पर्यटकीय विकास गर्न सरकारले चासो दिएको जानकारी दिए ।
‘जनयुद्धमा धेरैजनाले सहादत प्राप्त गरेको जिल्ला भएकाले पनि पाँचथरको विकासमा सरकारले ध्यान पुर्याउनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजनाको निर्माण गर्न सरकारले बजेट छुट्ट्याउने बताए । यस्तै, रानीटारमा प्रस्तावित हवाई मैदान निर्माणको प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।










