जुनसुकै उमेरमा हुनसक्छ हात्तीपाइले डा. भीम आचार्य निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

हात्तीपाइले रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । यो रोग लागेपछि गोडा सुन्निने, अण्डकोष सुन्निने, महिलामा योनि तथा स्तन सुन्निनेजस्ता लक्षण देखिन्छन् ।
यो रोग परजीवीबाट संक्रमण हुने भए पनि बाहिर लक्षण नदेखिएसम्म व्यक्ति स्वस्थ नै देखिन सक्छ । तर, बाहिर लक्षण नदेखिएसम्म यसको कुनै उपचार हुँदैन ।
हात्तीपाइले रोगको औषधि सरकारले विशेष कार्यक्रममार्फत खुवाउने गरेको छ । यसका लागि अल्बेन्डाजोल र डिइसी चक्की वर्षौंदेखि दैनिक प्रयोगमा आइरहेका छन् । चिकित्सकको सल्लाहबमोजिम औषधि खानुपर्छ ।
औषधि सेवन गरेका व्यक्तिको शरीरमा अरू नै रोगको संक्रमण छ भने ज्वरो आएकोजस्तो हुने, रिँगटा लाग्ने, वाकवाकी लाग्नेजस्ता केही लक्षण देखिन सक्छन् ।
हात्तीपाइलेको औषधि सेवनले मानिसको शरीरमा रहेका जुका, चुर्ना, अंकुसे जुका मर्ने तथा बाहिर निस्किने गर्छन् ।
यो औषधि दुई वर्षमुनिका बच्चा, गर्भवती महिला तथा सिकिस्त बिरामीबाहेक अरू सबैले खानु राम्रो हुन्छ ।
यो रोगको औषधि उमेरअनुसार मात्रा मिलाएर सेवन गर्नुपर्ने हुन्छ । यसले मानिसको स्वास्थ्यमा कुनै असर पार्दैन । दुईदेखि पाँच वर्षसम्मका बच्चालाई एक चक्की सानो र एक चक्की ठुलो खुवाउने तथा ६ देखि १४ वर्षसम्मका बच्चालाई सानो दुई चक्की र ठूलो एक चक्की खुवाउनुपर्छ । १५ देखि माथि सबै उमेर समूहलाई तीन चक्की सानो र एक चक्की ठूलो खुवाउनुपर्छ ।
हात्तीपाइले रोग मलाई छैन भन्न मिल्दैन । यो सबैमा हुन सक्छ । त्यसैले औषधिको सेवन गर्नबाट छुट्नुहुँदैन ।








