जाजरकोट अस्पतालमा समस्यै समस्या विशेषज्ञ चिकित्सक नहुँदा बिरामी सेवाबाट वञ्चित ओपीडी लगायत पूर्वाधार अभाव उपकरण, विद्युत् र खानेपानीको समस्या

जाजरकोट । यहाँको जाजरकोट अस्पतालमा भौतिक पूर्वाधार, विशेषज्ञ जनशक्ति लगायत अभावले स्वास्थ्य सेवा प्रभावित बनेको हो । स्थानीयले ५० शय्याको अस्पतालमा १५ शय्याको पनि सुविधा पाउन सकेका छैनन् । नौ विशेषज्ञ चिकित्सक दरबन्दी रहेको अस्पतालमा एकजना पनि उपलब्ध नहुँदा बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । विशेषज्ञसहित ५९ दरबन्दी रहेको अस्पतालमा ३५ स्वास्थ्यकर्मी पदपूर्ति गर्न बाँकी नै छ ।
अस्पतालको ४० वर्ष पुराना कच्ची भवन जीर्ण भएकाले स्वास्थ्य सेवा सञ्चालनमै कठिनाइ उत्पन्न भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चाँदनी जैसवालले बताउनुभयो । अस्पतालमा ओपीडी, इन्डोर, सुत्केरी, इमर्जेन्सी, ब्लड बैंक, स्टाफ निवास, आर्थिक तथा प्रशासन, स्टोरलगायत भवन अभाव भएको डा जैसवालले बताउनुभयो । त्यस्तै उपकरण, विद्युत, खानेपानी, कम्पाउन्ड वाल र अस्पताल द्वारसम्मको पहुँच मार्गको पनि उत्तिकै समस्या रहेको अस्पतालले जनाएको छ ।
भवन तथा पर्याप्त कोठा अभावमा रक्त सञ्चार र जटिल सुत्केरी सेवाल सुचारु हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । ठाउँ अभावमा ब्लड बैंकका सामग्री त्यत्तिकै थन्काएको उनको भनाइ छ । ‘पुराना भवन जीर्ण र चुहिने हुनुका साथै विभिन्न सेवाका लागि कोठै अपुग छन्,’ उनले भनिन् । बिरामीलाई दैनिक सेवा प्रदानका लागि अति आवश्यक मानिने ओपीडी र इन्डोर भवन अभावले पनि यहाँको स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको डा। जैसवालले बताउनुभयो ।
‘पानी चुहिने कोठामा बिरामीलाई राख्न बाध्य छौं,’ डा जैसवालले भन्नुभयो ‘१५ शय्याबाट ५० शय्यामा स्तरवृद्धि हुनु ठूलो उपलब्धि हो । तर आवश्यक पूर्वाधारबिना विशेषज्ञ सेवा प्रदान गर्न सकिंदैन । ५० शय्याको अस्पतालमा ६० भन्दा बढी कोठा जरुरी हुन्छ । तर यो अस्पतालको भवनमा २० कोठा पनि छैनन् ।’ कोठा अभाव र अति आवश्यक उपकरण तथा एम्बुलेन्स नहुँदा २५ शय्याको सेवा तत्काल सञ्चालन गर्ने योजना पनि अलपत्र परेको उहाँले बताउनुभयो ।
प्रसूति कक्ष, विशेषज्ञ कक्ष, बिरामी जाँच कक्ष, औषधि वितरण, एक्सरे तथा भिडियो एक्सरे, इमर्जेन्सीलगायत सेवा सञ्चालनका लागि अत्याधुनिक कोठा आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् । त्यस्तै अस्पतालमा अप्रेसन कक्ष, स्टाफ आवास भवन, डेड दर्जन सवारी साधन अट्ने पार्किङ स्थल, खानेपानी, बिजुली र बाटोको व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ । विशेषज्ञ सेवाका लागि आवश्यक पर्ने उपकरण पनि नआएको उहाँले बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पतालको स्तरवृद्धि गर्न र अस्तव्यस्त अवस्थालाई सुधार गर्न २ वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् ।
कान्तिपुरवाट ।





error: Content is protected !!