१८ करोडमा चुकेनीखोला जलविद्युत आयोजना बन्ने पक्का

जुम्ला । आठ वर्षको लामो प्रयासपछि जुम्लाको पातारासी ७ गडीगाउँस्थित चुकेनी जलविद्युत आयोजना रु.१८ करोडको लागतमा बन्ने पक्का भएको छ ।
पाँच सय किलोवाट विद्युत उत्पादनका लागि निर्माण कार्य सम्पन्न हुने जुम्लाको चौधबीस भेक र पातारासी हिमालको काखमा पर्ने यो सबैभन्दा ठूलो र पर्यटकीय आयोजना हो । आयोजना निर्माणका लागि वैकल्पिक उर्जाबाट रु.११ करोड अनुदान, एडिपीबाट रु.चार करोड सस्तो ऋण र रु.तीन करोड जन श्रमदान गर्नुपर्ने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिनुभयो ।
“सदरमुकाम जुम्लाले चर्को लोडसेडिङ्गको मार खेपिरहँदा दुरदराजको गाउँमा रु.१८ करोडमा विद्युत निर्माण हुनु चानचुने कुरा थिएन । हामी ग्रामीणबासीको सपना पुरा गर्न र मालिक बनाउनुमा ठूलो योगदान पुर्याउने व्यक्ति पूर्व सभासद् नरेश भण्डारीको हुनुहुन्छ,” अध्यक्ष बुढाले भन्नुभयो । उहाँका अनुसार यसबाट चौधबीस भेकमात्र नभई सिंगो जुम्लाबासीमा खुशी छाएको छ । आयोजनाको निर्माणका लागि सुरुमै लिईएको सपना थियो, “चौधबीसको पानी र चौधबीसकै लगानी” । त्यही सपनाका आधारमा यो अघि बढ्ने अध्यक्ष बुढाको भनाई छ ।
यता नेकपा माओवादी केन्द्र निकट नेपाल रािष्ट्रय बुद्धिजीवि संगठनका केन्द्रीय अध्यक्ष नरेश भण्डारीले भन्नुभयो, “परिश्रमी र इमानदार तर उत्पीडितहरूको प्रचुर सम्भावनायूक्त भूमिमा आयोजना निर्माण हुँदैछ, यसले जवा नदीमा बगिरहेको सेतो सुन अब पैसामा बदल्ने छ ।” पूर्व सभासद् भईसक्नु भएका अध्यक्ष भण्डारीले थप्नुभयो, “गरिब एवम् जेहेन्दार विद्यार्थीहरूलाई शिक्षा दिन र बिपन्नहरूलाई उपचार गर्न मुनाफाको निश्चित हिस्सा जम्मा गर्नेगरी आयोजनाले एउटा लोक कल्याणकारी कोष स्थापना गर्नेछ ।”
विश्वको सर्वाधिक उचाईमा धान फल्ने छुमचौर गाविस, पातारासी हिमाल, जडिबुटीको भण्डार क्षेत्र चौधबिस पर्यटकीय दृष्टिकोणले पनि त्यत्तिकै महत्व बोकेको उहाँको भनाई छ । उहाँका अनुसार निकट केही दिनमै आयोजना निर्माणको सिलन्यास गरिनेछ ।
शुरबहादुर सिंह÷रासस










