भारतीय राजदूतसँग डिनर खाइरहँदा अनिल झाको मोबाइलमा केपी ओलीको फोन

काठमाण्डौ , नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झामाथि मधेसी मोर्चाभित्रैबाट एमाले अध्यक्ष केपी ओलीका लागि सुराकी भूमिका निर्वाह गरिरहेको आरोप लागेको छ ।
झाको पार्टी मोर्चाको एक घटक हो । उनी आन्दोलनमा अन्य मोर्चा घटक सँगै छन् । मोर्चाक एक नेताका अनुसार आफूहरुको रणनीति र कार्यक्रमबारे झाले ओलीलाई नियमित जानकारी गराउने गरेका छन् । ‘अनिल झाले मोर्चाभित्रै बसेर केपी ओलीलाई हाम्रो सूचना दिने काम गर्दै आएको बुझियो’, ती नेताले भने, ‘उहाँमाथि हामीले सुक्ष्म निगरानी गरिरहेका छौं ।’
भारतीय दूतावासको डिनरमा के भयो ?
गत महिना नेपालस्थित भारतीय दूतावासले मधेसी मोर्चाका नेतालाई डिनरमा बोलायो । डिनरमा महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव लगायत थिए । भारतीय राजदूत रञ्जित रे र मोर्चा नेताबीच संविधान संशोधन विधेयकबारे कुराकानी चलिरहेको थियो । त्यही बैठकमा राजदूतले सरकारले ल्याएको संशोधन प्रस्तावमा सहमति जनाउन मोर्चा नेतालाई दबाब दिएका थिए ।
राजदूतले केपी ओलीकै प्रसंगमा कुरा गरिरहेका थिए । ‘ओलीजी विगतमे हमारा आदमी था, उसके लिए हमारा कितना ज्यादा लगानी है, ओ आदमी बारबार कहता है हम राष्ट्रवादी । नेपालमा राष्ट्रवादके नाममे भ्रमका खेती हो रहा है ।’ त्यति नै बेला अनिल झाको मोबाइलमा केपी ओलीको फोन आयो । झा केहीबेर अल्मिलिए । फोनको रेस्पेन्स गरौं कि नगरौं भन्ने द्विविधामा परे । दोश्रो पटक पनि रिङ बजेपछि फोन उठाए । ‘बैठक जारी छ, सकिएपछि म कल ब्याक गर्छु’, यति भनेर झाले फोन राखिदिए । उनले केपी ओलीले आफूलाई डिनर बैठकमा भएको छलफलबारे बुझ्न फोन गरेको बताएपछि सबै चकित परे ।
कसरी भयो ओली–झा कनेक्सन
झा दोश्रो संविधानसभा निर्वाचानमा रौतहट–१ बाट उम्मेदवार थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भारी मतान्तरले पराजित भए । निर्वाचनका बेला अहिलेजस्तो नेपाल–ओली सम्बन्ध सुमधुर थिएन । महाधिवेशनमा भएको हारजितले उनीहरुको सम्बन्ध खल्बलिएको थियो । माधव नेपालको प्रतिस्पर्धी भएका कारण ओलीको सहानुभूति झालाई थियो । त्यही बेलादेखि ओली–झा नजिक भएका हुन् । उनीहरुका बीचमा भेटघाट र टेलिफोनमा बाक्लो कुराकानी हुने गरेको दाबी श्रोतको छ ।










