प्रधानमन्त्रीले भने, निर्वाचन रोकेर संघीयता नै असफल बनाउने खेल भइरहेको छ

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका छन् ।
माओवादी घटकमा आबद्ध युवाको एकता बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई जसरी पनि सम्पन्न गराउने र त्यसैका लागि सम्पूर्ण तयारी गरिएको बताए । केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिँदै उनले निर्वाचन परिवर्तन चाहने र नचाहने प्रवृत्तिबीचको सङ्घर्ष भएको उल्लेख गरे ।
स्थानीय निकायको निर्वाचन हुन नदिएर सङ्घीयता नै असफल बनाउने खेल भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि द्विविधा नराखी निर्वाचनमा क्रियाशील हुन सबै राजनीतिक दललाई आग्रह गरे ।
परिवर्तनकारी शक्तिलाई विजयी गराउन युवा विद्यार्थीले विशेष योजनाका साथ काम गर्नुपर्ने स्पष्ट पार्दै उनले आगामी माघभित्र तीनवटै तहको निर्वाचन सम्पन्न हुने उल्लेख गरे ।
विश्वव्यापी रुपमा दक्षिणपन्थी हावा बगेको भन्दै प्रधानमन्त्रीले नेपालमा पनि त्यसैलाई अगाडि बढाउन खोजिएकाले क्रान्तिकारी युवाले सत्य कुरा नेपाली जनतालाई बताउनुपर्ने स्पष्ट पारे । रासस










