बिरामी खोज्न गाउँ आए डाक्टर

वर्दिया ,सहर पसेपछि गाउँ भुल्ने प्रवृत्तिलाई चिर्दै भरतपुरस्थित क्यान्सर अस्पतालमा कार्यरत डा। निर्मल लामिछाने स्वास्थ्यकर्मीको टोली लिएर बिरामी खोज्न आफ्नै गाउँ आए ।

आर्थिक अभावका कारण गाउँका सर्वसाधारण उपचारबाट वञ्चित हुने गरेको देखेका उनले आफ्नै खर्चमा बिरामी खोज्दै स्वास्थ्य जाँच गरे । रोगले बढी च्यापेका बिरामीलाई भारतपुर क्यान्सर अस्पतालमा उपचारका लागि बोलाएका छन् । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निस्शुल्क उपचार गर्ने उनले बताए ।

‘म गाउँमै पढे हुर्केकाले गरिबीको पीडा थाहा छ । पैसा नभएकै कारण उपचारबाट वञ्चित भएका सर्वसाधारण देखेको छु,’ डा। लामिछानले भने, ‘त्यसैले उपचारबाट वञ्चित भएका बिरामी खोज्न गाउँ आएका हौं ।’ यस क्षेत्रका सर्वसाधारणहरू क्यान्सर जाँच र उपचारका लागि भारतपुर जानुपर्ने बाध्यता छ । चिकित्सकहरूको टोली गाउँ आउने खबर फैलिएपछि जाँचका लागि २ सयभन्दा बढी बिरामी जाँच गराउन आएका छन् । मैनापोखरस्थित शारदा माविमा बिरामी जाँच गरिएको हो । उनले आफ्नै खर्चमा चिकित्सक र औषधि बोकेर आएका थिए ।

स्वास्थ्य जाँचका क्रममा थुपै्र महिलामा पाठेघरको समस्या रहेको पाइएको छ । स्तनमा गाँठो परेका बिरामी पनि भेटिएका छन् । लामो सयमसम्म पाठेघर र स्तनसम्बन्धी रोगको उपचार नगर्दा क्यान्सर हुने सम्भावना हुने चिकित्सकले बताए । त्यस्तो समस्या देखिएलगत्तै जाँच गराउन उनीहरूको सुझाव छ । केही महिलामा पाठेघरसम्बन्धी जटिल समस्या देखिएपछि थप जाँचका लागि सुझाव दिइएको छ । ‘आर्थिक अवस्था कमजोर भएका बिरामी चितवन पुग्न नसकेर रोग पाल्न बाध्य छन् । त्यसलाई सम्बोधन गर्न हामी गाउँ आएका छौं,’ डा।लामिछानेले भने ।

गाउँमै स्वास्थ्य जाँच गराउन पाएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् । ‘स्तन दुख्ने समस्यामा लागि धेरैपल्ट भरतपुर जान भनियो । तर, घरको कामले सम्भव भइरहेको थिएन । आज गाउँमै जाँच गराउन पाइयो,’ स्थानीय सुमित्रा बुढाथोकीले भनिन् । डा।। लामिछाने १० कक्षासम्म मैनापोखरमा पढेका थिए ।

उनलाई विद्यालयले सम्मान गरेको छ । बिरामी खोज्न गाउँ आएका उनले आफू पढेको विद्यालयका कक्षा १ देखि १२ सम्मका प्रथम, दोस्रो र तेस्रो हुने छात्राहरूलाई ३, २ र १ हजार पुरस्कार वितरण गरेका छन् ।
बिरामी खोज्न वातावरण मिलाउने स्थानीय अगुवा बालकृष्ण लामिछानेले यसैगरी चिकित्सक गाउँमा आए आर्थिक अभावकै कारण कोही पनि उपचारबाट वञ्चित नहुने बताए ।





error: Content is protected !!