सुन्तला नबिकेर किसान मर्कामा

हरि गौतम

, रुकुम  , जिल्लामा उत्पादित सुन्तलामध्ये आधा बिक्री नहुँदा किसान मर्कामा पर्दै आएका छन् । सुन्तलाको उत्पादन हरेक वर्ष बढे पनि बिक्री वितरण बढ्न नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष उत्पादन भएको १ हजार ६ सय ८ टन सुन्तलामध्ये ९ सय ६४ टन मात्र बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढे पनि बिक्री भने ५० प्रतिशत ननाघेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मीनबहादुर केसीले बताए । व्यवस्थित बिक्री वितरणको व्यवस्था नहुँदा सुन्तला नबिकेको केसीको भनाइ छ ।
गत वर्ष पनि कृषकले उत्पादनको आधा मात्रै सुन्तला बेचेका थिए । सुन्तला बेच्न कृषक आफैं विभिन्न बजार तथा गाउँ घुम्ने गर्छन् ।
कार्यालयका अनुसार जिल्लामा यस वर्ष १ सय ७२ हेक्टर जग्गामा सुन्तला खेती गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष १।१ प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । यस वर्ष १ हजार ६ सय ८ टन सुन्तला उत्पादन भएको छ । यो गत वर्षको तुलनामा १६ टन बढी हो । सोही क्षेत्रफलमा गत वर्ष १ हजार ५ सय ९२ टन उत्पादन भएको थियो । प्राविधिक सहायक केसीका अनुसार बिक्रीबाट यस वर्ष २ करोड ८९ लाख ४४ हजार रुपैयाँ आम्दानी भएको छ । गत वर्ष २ करोड ८६ लाख ५६ हजार रुपैयाँको बिक्री भएको थियो ।
कृषकहरूले सदरमुकाम खलंगा बजार, रुकुमकोट, सोलाबाङ, सिम्रुतु, झुल्नेटा, चौरजहारीलगायतका बजार र अन्य गाउँहरूमा सुन्तला बिक्री गर्दै आएका छन् । किसानहरू उत्पादित सुन्तला जिल्ला बाहिर पठाउन नसकिएको बताउँछन् । स्यालापाखाका कर्णबहादुर पुनले जिल्लामा धेरै उत्पादन गर्ने भए पनि बाहिरी जिल्लाको बजार लिन नसकिएकाले किसान मर्कामा पर्दै आएको बताए ।
प्राविधिक सेवा लिने किसानको संख्या बढ्नु र आवश्यक समयमा पानी परेपछि यस वर्ष सुन्तलाको उत्पादन बढेको कृषि कार्यालयले बताएको छ । कार्यालयले जिल्लाका स्यालापाखा र चौखाबाङलाई मुख्य तथा मुरु, घेत्मा, आठबिसडाडागाउँ, खारा, भलाक्चालगायतलाई सहायक पकेट क्षेत्रका रूपमा घोषणा गरेर सुन्तला उत्पादनका लागि भन्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!