बैतडीमा मतदाता नामावली संकलन कार्य सम्पन्न, दुई हजार ४ सय मतदाता थपिए


विनोद सिंह विष्ट, बैतडी, आसन्न निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालय बैतडीले जिल्लाभरी सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सम्पन्न भएको छ ।
पुस दोस्रो सातावाट सुरु भएको संकलन तथा अद्यावधिक कार्य दुई हजार ४ सय बढी मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
जिल्लाका ५६ गाविस र २ नगरपालिकामा गरी १ हजार १ सय महिला र १ हजार ३ सय ७६ पुरुष गरी २ हजार ४ सय ७६ मतदाता थपिएको जिलला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जीत बहादुर रोकायाले जानकारी दिनुभयो ।
७ टोली बनाएर गाँउ गाँउ परिचालन गरेको संकलन कार्यमा सबैभन्दा बढी गाँजरीमा १०२ जना तथा सबैभन्दा कम नागार्जुन, मठैराज र देउलेक गाविसमा समान ८÷८ जना मतदाता थपिएका छन ।
यस अघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटी देखिएका, विदेशमा बसोवास गरिरहेका ,बसाईसराई, मृत्यु, आदी कारणले अद्यावधिक गर्नु पर्ने र नया नागरिकता लिएका मानिसहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिएको बताईएको छ ।
प्रत्येक गाविस र नगरपालिकाका प्रत्येक वडामा सञ्चालनमा रहेकोे कार्यक्रम प्रत्येक दर्ताकेन्द्रमा २ दिनसम्म मतदाता नामावली संकलन तथा दर्ता कार्य गरिएको थियो ।
उमेरले १६ वर्ष पुगेपछी नागरिकता प्रमाणपत्र लिन पाइने भएपनि मतदाता वन्नका लागी १८ वर्ष पूरा भइ मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
बैतडीमा २०७३ असोज मसान्तसम्ममा ६० हजार ७ सय ९६ पुरुष तथा ६४ हजार ३ सय १९ महिला गरी १ लाख २५ हजार ११५ जनाको मतदाता नामावली नाम दर्ता भईसकेका छन ।










