अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानले सुनाए स्ववियुमा आफ्नो संगठनले जित्ने यस्तो सूत्र

नरेन्द्र न्यौपाने, अखिल क्रान्तिकारी
अनेरास्ववियु क्रान्तिकारीको देशमा राजनीतिक परिवर्तनको लागि महत्वपूर्ण योगदान छ । यहाँ भएका सबै राजनीतिक परिवर्तनमा क्रान्तिकारीले ठूलो योगदान दिएको छ । बहुदल आएसँगै आएको राजनीतिक बिसंगति र सामन्तवादका विरुद्ध क्रान्तिकारीले जोडदार रुपमा आन्दोलन गर्यो, जुन तत्कालीन शासकलाई पाच्य भएन । हाम्रो संगठनका कैयौं साथीको हत्या ग¥यो । कयौं साथी अहिले सम्म पनि वेपत्ता नै छन् ।
यो देशमा चन्द्र–सुर्य रहेसम्म राजतन्त्र रहन्छ भन्ने राजनीतिक दलहरु र तीनका भातृ संगठनलाई चुनौति दिएर अखिल क्रान्तिकारीले राजतन्त्रका विरुद्ध र गणतन्त्रको पक्षमा देशभरीका स्कुल क्याम्पस र विश्वविद्यालयमा अभियान चलायौँ । यो कुरा पनि त्यो समयका शासकलाई पाच्य भएन ।
क्रान्तिकारी यूवाहरु जीवनको परवाह नगरी गणतन्त्रको पक्षमा लडेका हौँ । संविधानसभाबाट संविधान निमार्ण गर्नुपर्छ भन्दै लडेका हौँ । गणतन्त्रको पक्षमा लड्दा, संविधानसभाबाट संविधान लेखिनु पर्छ, शोषित पीडितको पक्षमा आवाज उठाउँदा हाम्रो संगठनलाई प्रतिबन्ध लगाइयो । तर, हामीले गणतन्त्रको माग, सामाजिक न्यायको माग, शोषितपीडितकोे पक्षमा आवाज उठाउन छोडेनौँ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, संविधानसभाबाट संविधान घोषणा, धर्म–निरपेक्षता, समावेशी–समानुपातिकोपक्षमा हाम्रो संगठनले १० बर्ष सम्म संघर्ष गरेको हो ।
नेपालका अन्य राजनीतिक दलहरु यी बिषयमा बोल्न पनि डराउथे । सबै राजनीतिक दलहरु राजतन्त्रको पक्षमै थिए । तर, हामी त्यहीँ राजतन्त्रको विरुद्धमा लडाइ लडिरहेका थियौँ । यसकारण नेपालको राजनीतिक परिवर्तनमा अखिल क्रान्तिकारी जतिको भूमिका कसैको छैन । यो कुरा सबै विद्यार्थी वर्गहरुले बुझ्नु भएको छ ।
८ बर्ष पछि स्ववियुको निर्वाचन हुँदैछ । यो निर्वाचन अहिलेसम्म रोकिनुमा धेरै कारण छन् । जसमा प्रमुख तीन कारण यी हुन ।
१.विद्यार्थी संगठनहरुकाबीच मतभेद
२ राजनीतिक अस्थिरता
३.कुन प्रणालीमा निर्वाचन गराउने र कुन उमेरहदसम्म उम्मेदार हुन पाउने भन्ने बिषय
अहिले यी सबै बिषयको हल भएको छ । त्रिभुवन विश्वविद्यालयले निर्वाचन प्रणाली र उमेर हदको बिषमा टुङ्गो लगाई सकेको छ । बिशेषत यी दुबै माग अखिल क्रान्तिकारीका हुन । निर्वाचन मिश्रित प्रणालीमा हुनु पर्छ । स्ववियुमा उठ्ने विद्यार्थीको उमेर हद २८ बर्ष हुनु पर्छ भनेर र जसको लागि धेरै संघर्ष गरेको हो । जुन आज आएर पुरा भएको छ । यहाँ क्रान्तिकारीको एजेन्डा लागू भएको छ ।
क्रान्तिकारीले निर्वाचनको तयारी गरेको छ
स्ववीयुको निर्वाचनको मिति र कार्यतालिका घोषणा भएको छ । यसकारण अखिल क्रान्तिकारीले यसको लागि पाँच हजार चार सय ५३ सदस्य मुल निर्वाचन परिचालन समिति बनाएका छौँ । विभिन्न विभागका पनि समिति बनाएका छौँ । केन्द्रीय सदस्यको नेतृत्वमा क्याम्पस स्तरका निर्वाचन परिचालन समिति बनाएका छौँ । हाम्रो पुरा ध्यान अहिले स्ववियुको निर्वाचन कसरी सफल बनाउने र स्ववियुमा संगठनलाई कसरी पहिलो बनाउने भन्नेमै छ ।
हिजोको पाठ पनि हामीले सिकेका छौँ । पहिलो संविधानसभामा पहिलो भएको माओवादी पार्टी दोस्रो संविधानसभामा तेस्रो भयो । यसमा हाम्रा आन्तरिक र बाह्य कारण थिए । पहिलो–पार्टी विभाजनको असर, दोस्रो–आन्तरिक रुपमा बढेको दम्भ र तेस्रो –हाम्रा विरुद्ध भएका षड्यन्त्र । यो षडयन्त्रको पाटोलाई हामीले बुझ्न सकेनौँ । हामी यो राज्यसत्ता ध्वस्त गर्न हिडेका थियौँ तर, हामीलाई नै ध्वस्त गर्ने षड्यन्त्र बुझ्न सकेनौँ । हामी यहाँ चुक्यौँ । तर, पाठ चाहिँ सिकेका छौँ ।
अब आन्तरिक रुपमा सुदृढीकरण भएका छौँ । एक ढिक्का भएका छौँ । १० वटा माओवादी एक भएका छौँ । त्यसको भातृ संगठन हो क्रान्तिकारी । यसले सबै क्षेत्रमा सकारात्मक सन्देश गएको छ । स्ववियुु निर्वाचनमा हुने तिकडमलाई रोक्न आचारसंहिता लागु भएको छ । कार्यतालिका निस्केको दिनदेखि क्याम्पसमा भर्ना गर्न नपाइने भएको छ । यसको फाइदा हाम्रा संगठनलाई भएको छ । अब हामीमा पहिलो संविधान सभापछिको दम्भ छैन । जसबाट शिक्षा लिएर अगाडि बढिरहेका छाँै ।
सातवटै प्रदेशमा हामी अगाडि छौँ । म सातवटै प्रदेशमा गएको छु । सातवटै प्रदेशका बहुमत क्याम्पसमा हामी निर्वाचन जित्छौँ । हामीले विद्यार्थीका माझ विभिन्न अभियान चलाएका छाँै । विद्यार्थी हितमा काम गरेका छौँ । यो पटक हाम्रो एजेण्डा पास भएको छ ।
जसको एजेण्डा त्यसको नेतृत्व
हाम्रो एजेण्डा यो पटकबाट लागु भएका छन् । जुन कुरा हामीले उठाएका छौँ, ती सबै पास नभएपनि धेरै कुरा लागु भएका छन् । हामी अझै विद्यार्थीको हक हितको लागि लड्नेछौँ । त्यसकारण हामी अहिलेको स्ववियु निर्वाचनमा हाम्रा पास भएका एजेण्डा र अब पास गराउन लाग्ने एजेण्डा लिएर लड्दै छाँै ।
उमेर हद हामीले उठाएको मुद्दा हो । जुन इतिहासमा यो पटकबाट लागु हँुदछ । यो कुरा राम्रो हो । जुन वास्तविक विद्यार्थी हुन तीनले नै राजनीति गर्न पाउनुपर्छ । जुन कुरा अहिले आएर लागु भएको छ ।
मिश्रित निर्वाचन प्रणाली पनि हामीले उठाएको माग हो । यो पटकबाट यो प्रणाली लागु भएको छ ।
यतिमा मात्र हाम्रो कार्यभार सकिदैन । अरु काम पनि छन हामीले गर्नुपर्ने । जस्तो कि,
१–अबको निर्वाचनमा हाम्रो माग हुनेछ । विश्वविद्यालयमा पढ्ने विद्यार्थीले पार्टटाइम रोजगारी पाउनुपर्छ । अहिले यो कुरा त्यति राम्रो नलाग्ला, तर हामी यसलाई पुरा गराउनेछौँ ।
२–अनुसन्धानमुलक शिक्षामा हाम्रो ध्यान छ । अहिलेको शिक्षा खाली पढ्ने मात्र छ । अब अनुसन्धानात्मक हुनुपर्छ शिक्षा प्रणाली । जुन विद्यार्थीले शिक्षा पाउँछ, उ बेरोजगार बस्नुपदैन । अनुसन्धान गरेर पढ्दाको शिक्षा व्यवहारीक पनि हुन्छ ।
३–छात्रवृति वैंक व्यवस्था अर्को एजेन्डा हो ।
४–शैक्षिक ऋण पाउनुपर्छ । बैंकमा आफ्ना सर्टिफिकेट धरौटी राखेर ऋण पाउनुपर्छ भन्ने कुरा हामी कार्यन्वयन गराउन दवाव पैदा गर्नेछौँ । ढिलो–चाढो यो हल हुन्छ ।
५–शैक्षिकलाई राज्यले रोजगारी दिनुपर्छ । यसो भएन भने उसलाई बेरोजगार भत्ता दिनुपर्छ ।
६–हामी भ्रष्टाचारमुक्त स्ववियु बनाउँछाँै ।
७–स्ववियु कार्यलयमा नै पार्टटाइम रोजगारीको लागि कार्यालय स्थापना गछाँै । हामीले जितेका क्याम्पसमा यो शुरु गर्नेछौँ ।
८–सातै प्रदेशमा विज्ञान–प्रविधि क्याम्पस खोल्न माग गछौँ । यसमा मेडिकल शिक्षा, इन्जिनियरिङ, कृषि क्याम्पसहरुको माग उठाउनेछौँ ।
९–पूर्वाधारसहितको सेमेस्टर प्रणाली हुनुपर्छ भन्ने कुरामा लाग्छौँ ।
१०–सरकारले शिक्षाको दायित्व पुरा गर्नुपर्छ, आवश्यक दवाव बनाउछौँ ।
अहिले नेपालमा नयाँ संविधान आएको छ । संविधानले शक्षालाई मौलिकहकको रुपमा परिभाषित गरेको छ । यसमा पनि ८ कक्षासम्म अनिवार्य शिक्षा भनिएको छ । ९ कक्षादेखि १२ कक्षासम्म जसलाई माध्यामिक शिक्षा भनेको छ, यो निशुल्क हुने भनेर संविधानमा व्यवस्था गरेको छ । यो सरकारले लागु गर्नुपर्छ, होइन भने संविधान विरुद्ध गएको ठहर हुन्छ । यसकारण सबैले १२ कक्षासम्म निशुल्क शिक्षा पाउनु पर्छ । हामी यसका लागि दवाव बनाउँछौँ र त्यस्तो वातवरण निर्माणका लागि सहकार्य गर्छौँ ।
नीजि विद्यालयले शिक्षालाई सेवा होइन व्यापार बनाएका छन् । सरकारले यो बन्द गराउनुपर्छ । १२ कक्षासम्म अब नीजि विद्यालय खोल्न दिनु हँुदैन । यो संविधान विरुद्ध हुन्छ । संविधानमा १२ कक्षासम्म शिक्षा निःशुल्क हुने छ भन्ने छ । शुल्क लिनु भनेको संविधानको विरुद्ध हुन्छ । यो तुरुन्त बन्द गर्नुपर्छ सरकारले ।
हाम्रो संगठनको माग छ, सरकारले शिक्षाको जिम्मेवारी लिनुपर्छ । संविधानमा लेखेको कुरा पुरा गर्नुपर्छ । होइन भने यहीँ बिषयमा आन्दोलन हुनुसक्छ । यी विषय शिक्षाका आजका कार्यभार हुन । यसको पुरा गर्ने दायित्व हाम्रो संगठनले लिन्छ । त्यसका लागि स्ववियु निर्वाचनमा हाम्रो अग्रता रहन्छ । हामी ढुक्क छौँ, विगतको संघर्षपूर्ण विरासत, वर्तमानमा उठाइए शैक्षिक एजेन्डा र भविष्यप्रतिको जिम्मेवारीका कारण स्ववियुमा हामीलाई अग्रता मिल्नेछ । हामी पहिलो विद्यार्थी संगठन बन्ने छौँ ।










