किर्ते सरुवा बदर

जाजरकोट ,जिल्ला शिक्षा कार्यालयले किर्ते कागजका आधारमा गरिएको शिक्षक सरुवा बदर गरेको छ । खगेनकोटको बफेलगाउँस्थित सरस्वती प्राविबाट जनप्रिय आधारभूत विद्यालय पिउली, लहँमा हाजिर भएका शिक्षक दीपककुमार बुढाको सरुवा बदर भएको हो ।

गत पुस २९ गतेको ‘किर्ते गरेर सरुवा’ शीर्षक समाचार प्रकाशित भएपछि जिल्ला शिक्षाले उक्त सरुवा बदर गरेको जनाएको छ । जनप्रियलाई नयाँ शिक्षक पदपूर्तिका लागि अनुमति दिएको छ । व्यवस्थापन समिति बैठक, सरुवा सहमति, शिक्षकको राजीनामा स्वीकृति लगायत कागजका आधारमा शिक्षक बुढाको गत पुस १४ गते सरुवा भएको थियो ।
शिक्षक दीपेन्द्रकुमार खड्का शिक्षक सेवा आयोगको पश्चिमाञ्चल विकास क्षेत्रबाट मावि तृतीय श्रेणीमा नेपाली विषयमा सिफारिस भएपछि त्यहाँ राहत अनुदान कोटा रिक्त भएको थियो । जिल्ला शिक्षा कार्यालयमा पेस भएअनुसार गत पुस १२ गते व्यवस्थापन समितिको बैठक नबसेको, शिक्षक खड्काको राजीनामा स्वीकृत नगरेको र सरुवा सहमतिपत्रलगायत कागजमा हस्ताक्षर पनि नगरेको भन्दै व्यवस्थापन समिति अध्यक्ष दीपबहादुर विकले जिल्ला प्रहरीमा किर्ते कार्य गर्ने शिक्षक शारदा बुढा र दीपक बुढाविरुद्ध उजुरी दिएका थिए । किर्ते सरुवा उजुरी विषयका विपक्षीलाई कार्यालयमा हाजिर गराएर आवश्यक अनुसन्धान भइरहेको डीएसपी भावेश रिमालले बताए । शिक्षा नियमावलीमा शिक्षकले चाहेको विद्यालयमा सरुवा हुन सम्बन्धित विद्यालय व्यवस्थापन समितिको अध्यक्षको सहमति अनिवार्य चाहिने प्रावधान रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । त्यसो नभई फर्जी कागजले शिक्षक बुढाको सरुवा भएको पुष्टि हुँदा उक्त सरुवा बदर गरेको जिशिअ सिंहले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!