रुघाखोकी लाग्दा आफैँ डाक्टर

डा महेन्द्रबहादुर विष्ट पूर्वनिर्देशक स्वास्थ्य सेवा विभाग

चिसो मौसममा रुघाखोकीले बढी नै सताउँछ । रुघाखोकी लाग्दा वेलैमा ख्याल नपुर्‍याए नाकमा एलर्जी हुने, पिनास निम्तिने, दिमागमै असर गर्ने तथा फोक्सोमा हानि पुयाउने हुन सक्छ । तर, रुघाखोकी लाग्दैमा तत्काल मेडिकल तथा अस्पताल धाउनुपर्दैन । आफैँ डाक्टर बनेर घरमै केही उपचार गर्न सके रुघाखोकीबाट जोगिन सकिन्छस् रुघा लाग्दा सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या निम्तिन्छ ।

कफ जमेको छ भने छाती गह्रौँ हुन्छ र खोकी लागिरहन्छ । नाक टालिएको छ र कफ छ भने बिहान घरबाहिर निस्किनुअघि या राति सुत्नुअघि तातो पानीको बाफ लिनु राम्रो हुन्छ । केही दिन निरन्तर बाफ लिँदा टालिएको नाक खुल्छ र कफ फुटेर निस्किन सहज हुन्छ । रुघा लागेका वेला हाछ्युँ गर्दा आफ्नै नाकमा कुनै दुर्गन्ध महसुस हुन्छ भने पिनास भएको बुझ्नुपर्छ । पिनास हुँदा पनि तातो पानीको बाफले फाइदा गर्छ । तातोपानीको बाफ लिने मात्रै होइन, तातै पानी पिउने, रसिलो तातो खानेकुराले आराम दिन्छ । रुघाखोकी लाग्दा चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । तारेको मासु या अन्य परिकार र दुग्ध पदार्थ सेवनमा प्रतिबन्ध नै लगाउनु राम्रो हुन्छ । यस्ता खानेकुराले झनै कफ बढाउँछ । रुघाखोकीका वेला अदुवाको रस र मह बराबर मात्रा मिलाएर ठूलो एक चियाचम्चा हरेक दिन बिहान र बेलुका सेवन गरेमा आराम मिल्छ । लसुनले पनि रुघाखोकीमा फाइदा गर्छ । तीन पोटी लसुन पिसेर एक ठूलो चियाचम्चा महमा १२ घन्टासम्म राखेर बिहान–बेलुका सेवन गर्न सकिन्छ । मह र कागतीको रस बराबर मिलाएर एक चियाचम्चा बिहान–बेलुका पिउनाले पनि लाभ हुन्छ ।

आधा–आधा चियाचम्चा तुलसीको पातको रस र अदुवाको रस मिसाएर केही बेर पकाएर पिउँदा रुघाखोकी चाँडै निको हुन्छ । खोकीमा बेसार पनि निकै उपयोगी हुन्छ । एक गिलास पानीमा आधा चम्चा बेसार राखेर केही बेर पकाएर या तातो पानीमा काँचो बेसार राखेर पनि सेवन गर्न सकिन्छ । बेसारले रुघा पकाउन पनि भूमिका खेल्छ ।





error: Content is protected !!