भीम रावलको रिपोर्ट शतप्रतिशत झुठोः सेनारप्रहरी

काठमाण्डु, – शुक्रबार सत्तारुढ काँग्रेस–माओवादी केन्द्र र मधेसी मोर्चाको बालुवाटारमा भएको बैठकमा एउटा गम्भीर विषयले प्रवेश पायो ।
त्यो विषय थियो, मधेसी मोर्चा र तराईमा सशस्त्र संघर्ष गरिरहेका समूह तथा मधेस टुक्र्याउने अभियानमा रहेका सीके राउतबीच केही भारतीय नेताको मध्यस्थतामा भारतको पटनामा भएको भनिएको वार्ता ।
केही दिनअघि एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले गत १९ पुसमा शीतलनिवासमा बोलाएको प्रमुख पाँच पार्टीका शीर्ष नेताको बैठकमा त्यो विषय राखेका थिए । सोही विषयमा एमाले उपाध्यक्ष बामदेव गौतम निवासमा बसेको एमाले स्थायी समिति बैठकमा समेत छलफल भएको थियो ।
सुरक्षा निकायले भन्यो–झुठो हो
प्रधानमन्त्री प्रचण्डले मुलुकको गृहमन्त्री भइसकेका र एमालेको उपाध्यक्षजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताले राष्ट्रपतिका अगाडि पाँच पार्टीका शीर्ष नेता भएको ठाउँमा रावलले उक्त विषय उठाएकाले आफूले गम्भीर रुपमा लिएको बताए । लगत्तै आफूले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उक्त विषयमा जानकारी मागेको उल्लेख गरे ।
तर, चारवटै सुरक्षा निकायका प्रमुखले उक्त दाबी झुठो भएको जानकारी आफूलाई दिएको उनले जनाए । ‘मलाई त्यो विषय गम्भीर लाग्यो र चारवटै सुरक्षा प्रमुखलाई बोलाएर सोधें’, प्रचण्डको भनाइ उद्धत गर्दै बैठकमा सहभागी एक नेताले काठमाण्डु टुडेसँग भने, ‘तर, पछि थाहा भयो सबै एमालेले तयार पारेको झुठो रिपोर्छ रहेछ ।’
प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले पटना गएका भनिएका अधिकांश मधेसी नेताको फोन रेकर्ड हेर्दा छलफल भएको भनिएको मितिमा काठमाण्डुमै भएको रिपोर्ट दिएको उनले जानकारी दिए । एमालेले संघीयतालाई जसरी पनि असफल पार्ने नियतका साथ उक्त कथा तयार पारेको दाबी प्रधानन्त्रीको थियो ।










