निर्वाचनको तयारीमा कर्मचारी व्यस्त

जाजरकोट, स्थानीय तह वा निकायको निर्वाचनको टुंगो नलागे पनि जिल्ला निर्वाचन कार्यालय जाजरकोटका कर्मचारीहरू निर्वाचनको तयारीमा व्यस्त रहेका छन् । कुनै पनि समयमा स्थानीय निर्वाचन घोषणा हुन सक्ने भन्दै कार्यालयले निर्वाचनको तयारी सुरु गरेको कार्यालयले जनाएको छ ।
सरकारले निकट भविष्यमै स्थानीय निर्वाचनको मिति तोक्न सक्ने भन्दै गाउँगाउँमा मतदाता नामावली संकलन तथा अद्यावधिकको काम कार्यालयले तीव्र बनाएको छ । त्यस्तै, कार्यालयले मतदातालाई निर्वाचनको आवश्यकता र मतदान गर्ने तरिकाबारे शिक्षा दिने तथा राजनीतिक दलहरूको विवरण संकलन तथा अद्यावधिक गर्ने काम सुरु गरेको जनाएको छ । विभिन्न अभियानमार्फत फोटोसहितको मतदाता नामवली संकलन तथा अद्यावधिक गर्ने कामसँगै जिल्लास्थित राजनीतिक दलहरूको विवरण संकलनको काम पनि कार्यालयले सुरु गरेको कार्यालय प्रमुख हरिबहादुर बुढाथोकीले जानकारी दिए ।
कार्यालयले मतदाता नामावली संकलन र अद्यावधिक, मृत्यु भएका र बसाइँ सरी अन्यत्र गएकाको नाम हटाई मतदाता नामवली चुस्त राख्न काम सुरु भएको प्रमुख बुढाथोकीले बताए । ‘अहिले सबै काम स्थानीय निर्वाचनलाई ध्यानमा राखेर गतिविधि सञ्चालन भइरहेका छन्,’ बुढाथोकीले राजधानीसँग भने ।

निर्वाचनको मिति तय नभए पनि जिल्लामा क्रियाशील राजनीतिक दलहरूले समेत निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेका छन् । नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालगायतका दलले निर्वाचन केन्द्रित गाउँस्तरमा कार्यक्रम गर्दै आएका छन् ।

राज्य पुनःसंरचना आयोगको सिफारिसअनुसार तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेको जाजरकोटमा तस्बिरसहितको मतदाता परिचयपत्र मंसिर मसान्तसम्म ८० हजार ४ सय ३१ संकलन भएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि २०५४ मा स्थानीय निर्वाचन हुँदा जाजरकोटमा दुई निर्वाचन क्षेत्र, ११ इलाका, ३० गाविस र २ सय ७० वडा थिए । यसअघि २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा ९७ हजार ३ सय ४ मतदाता रहेका थिए भने २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा कुल मतदाता संख्या ६४ हजार ६ सय ५ थियो ।





error: Content is protected !!