एमालेले भन्यो–गाडी तोडफोड गरेका हौ, जलाएका होइनौ

काठमाडौ, १५ पुस । काठमाडौंको नया बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ भने अर्को एउटामा तोडफोड भएको छ ।
शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए । अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताउनुभयो ।
यसैबिच सरकारी गाडीमाथि भएको आगजनी आफूहरुसँग सम्बन्धित नरहेको युवा संघले जनाएको छ । संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बाँकेको कोहलपुरमा खुकुरी प्रहारको घटनालाई लिएर विरोधसभा गरिए पनि गाडीमा आगजनी नगरेको संघका प्रवक्ता प्रभातविक्रम कटुवाल जानकारी दिनुभयो ।एउटा गाडीमा भएको तोडफोडको भने युवा संघले जिम्मेवारी लिएको छ । विरोधसभामा जबर्जस्ती गाडी ल्याएकोमा आक्रोशित कार्यकताले गाडी तोडफोड गरेको प्रवक्ता कटुवालले बताउनुभयो ।










