जाजरकोटमा नमुना विद्यालय थपिँदै

लक्ष्मण रसाईली
जाजरकोट । खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न जिल्ला शिक्षा कार्यालय जाजरकोटले नमुना विद्यालय निर्माण कार्य तिब्र बनाएको छ । निजी विद्यालयले सामुदायिक विद्यालयलाई धक्का दिएको बेला शैक्षिक सुधार वर्ष घोषणा गरि शिक्षा कार्यालयले नमुना विद्यालय निर्माण कार्य तिब्र पारेको हो । आर्थिक वर्ष २०७२र७३ मा ११ वटा विद्यालयलाई नमुनाको रुपमा विकास गरी कामलाई तिब्रता दिएको शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३र७४ मा थप १२ वटा विद्यालयमा नमुना भवन र ३० विद्यालयलाई नमुना पढाईको रुपमा रुपन्तरण गरी काम अगाडी बढाएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए ।
राम्रो काम गर्ने शिक्षा दिवसको अवसर पारेर ११ वटा नमुना विद्यालय र शिक्षकलाई कार्यालयले सम्मान गरेको थियो । नमुना विद्यालय बनाईएका सामुदायिक विद्यालयमा नजिक रहेका निजी विद्यालय छाडेर विद्यार्थी पढ्न आउँने गरेको निमावि रिसाङ्कले जनाएको छ । नमुना विद्यालय निर्माण संगै सवै विद्यालयमा फर्निचर निर्माण कार्य अगाडी वढेपछि वहुकक्षा शिक्षण कार्य घटेको कार्यालयले जनाएको छ । राम्रो काम गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गरिएपछि अहिले विद्यालयको शैक्षिक,भौतिक अवस्था सुधार्न जिल्लाका सबै विद्यालय कस्सिएको शुक्रवार भएको प्रअ वैठकमा प्रधानाध्यापकले बताएका छन् ।
नमुना विद्यालय निर्माणको अभियान सुरु गर्नु अघि जिल्ला शिक्षा कार्यालयले देशकै पहिलो अभ्यास गदै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयूक्त बैठक राखी तीन दिने प्रशिक्षण दिएको थियो । विद्यार्थी र शिक्षकलाई पढ्ने बानीको विकास गर्नका लागि प्रत्येक विद्यालयमा पुस्तकालय स्थापनाको लागि कामले गती लिएको छ । मावि तथा निमावी र उच्च माविहरुमा सुचना अधिकारी राखेर देशमै नयाँ कामको सुरुवात जिल्ला शिक्षा कार्यालय जाजरकोटले गरेको छ ।
कुन विद्यालयमा कति बजेट पठाएको छ भनी प्रत्येक गाविस र विद्यालयको सुचना पाटीमा टाँस गरी आर्थिक पारदर्शीताको नयाँ कार्यको सुरुवात गरेको शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । विद्यालयको काम वाहेक कार्यालय समयमा शिक्षकहरु अन्यत्र काममा लागेको देखिएमा जिल्ला प्रहरी कार्यालयको समन्वयमा तत्काल शिक्षा कार्यालयलाई जानकारी गराई तत्काल शिक्षकलाई विद्यालयमा पढाउने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालयका ईङ्लिसपेक्टर हिम्मत बोहराले जानकारी दिए । काम चोर शिक्षकलाई तह लगाउन जिल्ला शिक्षा कार्यालयले प्रहरीको सहायता लिएको हो ।
विद्यालयमा नपढाउने शिक्षकको तलव कटाएर सोही विद्यालयमा पुस्तकालय र शैक्षिक सामग्री अनि फर्निचर निर्माणका लागि रकम खर्च गरिएको जिशिअ सिंहले बताए । शिक्षक भनेको बालबालिकाको भविष्य बनाउने कुमाले भएकाले आफु सज्जन बन्नु पर्ने प्रावि वफेलगाउँका प्रधानाध्यापक भवानी शर्माले बताए ।
शिक्षकले मेहनेत गरे मात्र सो गुण विद्यार्थीमा सर्ने भएकाले हामी शिक्षक लाई सवैले आदर गर्ने पंञ्चभयार माविका शिक्षक बीरवहादुर खत्रीले बताए । शिक्षकलाई गुरु भनी गरिने सम्वोधन शव्द आफैमा अमुल्य भएकोले सो शव्दको ख्याल गरी काम गर्नुपर्ने खत्रीको भनाई छ










