नयाँ बानेश्वरमा सरकारी गाडी कसले जलायो

शुक्रवार, पुस १५,
काठमाडौंः शुक्रबार दिउँसो नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी भएको छ । व्यस्त सडकमा भएको आगजनीबारे महानगरीय प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।
युवा संघका कार्यकर्ताले केही गाडीमा तोडफोड गरेर बा २ ज १३ ९२ नम्बरको सरकारी गाडीमा आजगनी गरेको आरोप लागेको भए पनि प्रहरीले भने घटनामा संलग्नहरुको पहिचान हुन नसकेको बताएको छ । ‘आगजनीमा संलग्नको बारेमा अनुसन्धान भइराखेको छ’, महानगरीय प्रहरी नयाँ बानेश्वर वृत्तका प्रमुख नारायण चिमोरियाले भने, ‘हामी चाँडै निष्कर्षमा पुग्छौँ ।’बिहीबार राति नेपालगञ्जमा युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको विरोधमा कार्यक्रमको तयारी हुँदै गर्दा भएको आगजनीमा युवा संघको संलग्नता रहेको आशंका गरिएको छ ।
युवा संघले भने संगठनलाई बद्नाम बनाउन गाडी आगजनीको आरोप लगाएको बताएको छ । संघका प्रवक्ता प्रभातविक्रम कट्वालले अन्नपूर्ण अनलाइनसँग भने, ‘विपक्षी दलको आन्दोलनलाई कमजोर बनाउन आगजनी भएको हुनसक्छ, यसमा हाम्रो संगठनको संलग्नता छैन ।’
प्रवक्ता कट्वालले आगजनी भएकोप्रति युवा संघ दुःखी भएको बताए । ‘हामी शान्तिपूर्ण आन्दोलनको तयारीमा थियौँ तर बानेश्वर नजिकै केही व्यक्तिले घुसपैठ गरेर गरेको आगजनीप्रति हामी दुःखी छौँ ।’
यता युवा संघका उपाध्यक्ष रमेश पौडेलले भने सरकारी गाडीमा आगजनी युवा संघले नगरेको तर आगजनीमा युवा संघका शुभचिन्तक संलग्न हुन सक्ने बताएका छन् ।
‘युवा संघको आन्दोलन चल्दै गर्दा आक्रोशित भिडले गाडीमा आगजनी गरेको हो । गाडी जलाउने युवा संघको संस्थागत निर्णय होइन’, पौडेलले भने, तर, गाडी जलाउनेहरु युवा संघका शुभचिन्तक हुनसक्छन् १’










